साउदी अरब विमानस्थलमा  विदेशी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु, सयौँ घाइते

आइतबार, २५ असोज २०८३, १० : ५५

साउदी अरबको राजधानी रियादस्थित एउटा विमानस्थलमा गरिएको हमलामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३०९ जना घाइते भएका छन्।

यमनका हूथी विद्रोहीबाट साउदी अरबमा सोही प्रकृतिको हमला गरिएको भन्ने दाबी आएको केही दिनपछि यो घटना भएको हो।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार हमलामा मारिनेमा साउदी नागरिक चार जना, बाङ्ग्लादेशका दुई जना र अमेरिका, जोर्डन, प्यालेस्टिन, सिरिया, सुडान एवं इजिप्टका एक-एक जना रहेका छन्।

साउदीको राजधानीमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दाबी
ड्रोन हमलापछि साउदी अरेबियाले गर्‍यो मुख्य तेल पाइपलाइन बन्द
हमलापछि किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कामकारबाहीहरू अहिलेका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शी के भन्छन्?

आन्तरिक टर्मिनलमा रहेका एक प्रत्यक्षदर्शीले समाचारसंस्थाहरूलाई बताएअनुसार गेट नं ४०१ मा हमला हुँदा आँखैअगाडि मानिसहरू घाइते भएको उनले देखे। सबै "मानिसहरू भागिरहेका थिए," उनले भने।

एक दर्जनभन्दा बढी एम्बुलेन्सहरू तेज गतिमा विमानस्थलतर्फ आउँदै गरेको आफूले देखेको अर्का एक प्रत्यक्षदर्शीले समाचार संस्था रोएटर्सलाई बताएका छन्।

पछि साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल टर्की अल-मलिकीले एउटा टर्मिनलमा गरिएको हमलामा परी सर्वसाधारण यात्रु तथा विमानस्थल कर्मचारीहरूको ज्यान गएको बताए। हमलालाई उनले "पूर्ण रूपमा युद्ध अपराध"को सङ्ज्ञा दिए।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले साउदी अरबमाथि गरिएको हमलाको भर्त्सना गर्दै हमलामा एक अमेरिकी नागरिक पनि मारिएको पुष्टि गरेका छन्।

साउदी अरबमा रहेका पश्चिमा देशका कूटनीतिक नियोगहरूले आआफ्ना नागरिकहरूलाई विमानस्थलदेखि टाढै रहन अनुरोध गरेका छन्।

यूकेको विदेश मन्त्रालयले विमानस्थल सुरक्षित नभएसम्म सो क्षेत्रमा नजान आफ्ना नागरिकहरूलाई अनुरोध गरेको छ।

हमलाको घटनापछि खाडी देशका कैयौँ हवाई सेवाप्रदायक कम्पनीहरूले आफ्ना उडानहरू रद्द गरेका छन्। कुवेत एअरवेजले सुरक्षाको कारण देखाउँदै उडान रद्द गरेको जनाएको छ।

फ्लाइटरेडारका अनुसार रियादतर्फ जाने सबै उडानहरू हमलापछि कि अर्कोतर्फ डाइभर्ट गरिएको छ कि त रद्द गरिएको छ।

बदला लिने चेतावनी

साउदी अरब नेतृत्वको गठबन्धनले यो हमलाको जवाफ दिने प्रतिक्रिया दिएको छ। उसले हमलाका लागि हूथी विद्रोहीलाई जिम्मेदार ठहराउँदै "युद्ध अपराध"को सङ्ज्ञा दिएको छ।

साउदी अरबको समर्थन रहेको यमनको सरकारी सेना र हूथी विद्रोहीबीच पछिल्लो समय लडाइँ चर्किएको छ। हूथीहरूले देशका अधिकांश क्षेत्रमाथि कब्जा गरेका छन्।

साउदी अरब नेतृत्वको गठबन्धनअनुसार शनिवार दमामस्थित किङ्ग फहाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक एउटा प्रोजेक्टाइल खसेको थियो।

इरानको समर्थन प्राप्त हूथी विद्रोहीहरूले साउदी विमानस्थलमा दुई वटा आक्रमण गरेको अधिकारीहरूले बताएको एक दिनपछि पछिल्लो हमला भएको छ।

त्यो हमलामा तीन जना साउदी नागरिक मारिएका थिए। त्यसअघि अक्टोबर ६ र ७ तारिखमा साउदी अरबका दुई वटा विमानस्थलमा गरिएका हमलामा अर्का तीन जना व्यक्ति मारिएका थिए।

साउदी नागरिक उड्डयन प्राधिकरणले शनिवार जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिएअनुसार घाइते मानिसहरूको अवस्था "गम्भीर" छ।

सो विमानस्थलमा गरिएको हमलाबाट पुगेको क्षतिको आकलन गर्न बाँकी रहेको उक्त निकायले जनाएको छ।

यमनको गृहयुद्धमा साउदी अरबको सेनाले सरकारी सेनालाई सघाइरहेका कारण आफूहरूले साउदी अरबलाई निशाना बनाइरहेको हूथीहरूले बताएका छन्।

चर्कँदो लडाइँबीच हूथी विद्रोहीहरूले रेड सीका महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको पृष्ठभूमिमा साउदी अरबमाथि पछिल्ला हमला भएको छ।

हूथी विद्रोहीलाई यमनमाथि नियन्त्रण कायम गर्नबाट रोक्ने तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनको सरकारलाई सघाउने उद्देश्यका साथ सन् २०१५ मा साउदी अरबको नेतृत्वमा एउटा सैनिक गठबन्धन बनाइएको थियो।

बीबीसी न्यूज नेपाली 

आइतबार, २५ असोज २०८३, १० : ५५

प्रतिक्रिया