चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता, नारायणगढ–मुग्लिनसहितका सडकमा काम जारी

मंगलबार, २७ असोज २०८३, ०९ : २४

चितवन- चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले चितवन सडक डिभिजन कार्यालय भरतपुरले राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ ।

बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी आवागमन सहज बनाउन कार्यालयले कामलाई प्राथमिकताका साथ अघि बढाएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष बाढी, पहिरो र वर्षाले विभिन्न स्थानका सडकमा क्षति पुर्‍याएकाले चाडपर्वलाई लक्षित गरी मर्मतको काम तीव्र पारिएको हो । सडक मर्मत नियमित प्रक्रिया भए पनि यस वर्ष चाडपर्वलाई ध्यानमा राखेर थप प्राथमिकताका साथ काम भइरहेको उनले बताए ।

“हामी नियमित रूपमा सडक मर्मत गर्छौं । यस वर्ष चाडपर्वलाई लक्षित गरी कामलाई तीव्रता दिएका छौँ । यात्रुलाई सहज रूपमा यात्रा गर्न सक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो”, उनले भने ।

उनका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडकखण्डका साथै नवलपुर–पाल्पा–कालीगण्डकी करिडोरमा नियमित मर्मत भइरहेको छ । तीमध्ये अधिकांश स्थानमा मर्मतको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

आचार्यका अनुसार सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको आवागमन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुग्ने गरेको छ । उनले सडकको क्षति न्यूनीकरण गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न आग्रह गरे ।

कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडक मर्मत गरिरहेको छ । हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गर्नुका साथै आवश्यकताअनुसार इमल्सन प्याच प्रविधिबाट सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

मंगलबार, २७ असोज २०८३, ०९ : २४

प्रतिक्रिया