भारतमा अमेजनको सात अर्ब डलर लगानी

बुधबार, ०२ मंसिर २०८३, १६ : ४०

काठमाडौं- अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन बढाउनुका साथै कम्पनीका सञ्चालनमा प्रयोग हुने विद्युतको कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न सरकारले करिब दुई खर्ब २० अर्ब डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ ।

अमेजनले भारतमा यसअघि नै नवीकरणीय ऊर्जा क्षेत्रमा चार अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । कम्पनीका अनुसार यसले अमेजनलाई भारतमा कार्बनमुक्त विद्युत्को प्रमुख कर्पोरेट खरिदकर्तामध्ये एक बनाएको छ ।

कम्पनीले आफ्नो विद्यमान लगानी कार्यक्रमअन्तर्गत संयुक्त रूपमा ९३४ मेगावाट विद्युत् उत्पादन क्षमता भएका चार नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना पनि घोषणा गरेको छ ।

अमेजनकी प्रमुख स्थायित्व अधिकारी कारा हस्र्टले भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन योजना र उद्योग क्षेत्रसँगको सहकार्यको परिणाम भएको बताए । थप सात अर्ब डलरको लगानीले नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना सञ्चालनमा ल्याउन सहयोग पुग्ने उनको भनाइ छ ।

यद्यपि, कम्पनीले नयाँ लगानी कुन परियोजनामा र कसरी खर्च गर्ने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

कोइला र तेलमा निर्भर भारतले पछिल्लो एक दशकमा स्वच्छ ऊर्जाको विस्तारलाई तीव्रता दिएको छ । हाल भारतको कुल जडित विद्युत् उत्पादन क्षमताको ५४ प्रतिशतभन्दा बढी हिस्सा सौर्य, वायु तथा जलविद्युत्लगायत गैरजीवाश्म इन्धन स्रोतबाट प्राप्त हुने गरेको छ ।

बढ्दो विद्युत् माग पूरा गर्दै जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न भारतले नवीकरणीय ऊर्जा उत्पादन विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।

अमेजनको पछिल्लो लगानी आफ्नो विश्वव्यापी सञ्चालन, विशेषगरी डाटा सेन्टर तथा अन्य सुविधामा खपत हुने विद्युत्को कार्बन उत्सर्जन घटाउने रणनीतिको पनि हिस्सा हो ।

बुधबार, ०२ मंसिर २०८३, १६ : ४०

प्रतिक्रिया