काठमाडौं- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत महिला क्रिकेटतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।
सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै आर्मी क्बल सेमिफाइनल प्रवेश गरेको हो । कर्णाली भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो ।
सुर्खेत वीरेन्द्रनगरस्थित कालुञ्चोक क्रिकेट मैदानमा आज भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टोलीका सदस्य आर्मी क्लबका सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाईन् । उनले १० चौका प्रहार गरिन् ।
त्यस्तै, यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहेकी थिईन् । आर्मीकी बिन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थपिन् । आर्मीले २० रन अतिरिक्त पाएको थियो । कर्णालीका बलर गङ्गा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट दिईन् ।
खेलमा १३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिममा ब्याटिङ गर्न आएका कर्णालीका जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अङ्क छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाईन् । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाएका थिए ।
कर्णालीलाई सहजै समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिईन् । चार ओभर बलिङ गर्नुभएकी मनिषाले जम्मा १० रन मात्रै दिईन् ।
यस्तै, यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेर्डन राखेर तीन विकेट लिईन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिएकी थिईन् । लक्ष्मी साउदका नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित भईन् ।
प्रतिक्रिया