नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुल्यो ः मन्त्री पुन

५ बर्ष अगाडि


काठमाडौं, ८ बैशाख । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए । 
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा  मन्त्री पुनले यस्तो बताएका हुन । उनले भने,‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र १५ हजार मेघावट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले बृहत्त योजनाहरु यसै वर्षभित्र सूरु गर्ने भएको छ, तीन वर्षमा तीन हजार, ५ वर्षभित्र १० हजार र १० वर्षभित्र १५ हजार मेघावट विद्युत निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’ 
मन्त्री पुनले आधुनिक उर्जाको विकासले आर्थिक समृद्धि मात्रै नभएर रोजगारीको समेत सिर्जना हुने विश्वास दिलाए । उनले भने,‘स्वेतपत्र, र नीति तथा कार्यक्रममा भनिएका सबै कुराहरु अक्षरंश कार्यान्वयन हुन्छन्, पहिलेकोजस्तो अस्थिर राजनीतिक अवस्था अहिले छैन्, काम गर्ने समय मिलेन भन्ने अवस्था पनि छैन्, २०७५ सालबाट आर्थिक समृद्धि र विकासको वर्ष सूरु भएको छ, यसलाई नै समृद्धिको आधार वर्षको रुपमा गणना गर्न अनुरोध गर्दछु ।’
उर्जामा आधुनिकीकरण गरेर आगामी ३ वर्षभित्र भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गर्नेतर्फ उर्जा मन्त्रालय जुटिसकेको पनि उनले जनाए । उनले थपे,‘विद्युतीय चुल्हो, विद्युतीय सवारीहरुको खरिदजस्ता कामहरु गर्ने र ब्यापार घाटालाई प्रतिस्थापन गर्नेमा सरकारको तयारी रहेको छ, हामी त्यही अनुार अघि बढिरहेका छौं।’ 
राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको अभियानलाई सार्थकतामा लैजानु नै वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाई छ । उनले थपे,‘सकारले सबै दलहरुलाई विश्वासमा लिएर अघि बढ्छ, समृद्ध मुलुक निर्माण गर्नको लागि हामी सबैको साथ र सहयोग लिएर अघि बढ्छौं, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगमा समृद्धि हाँसिल गर्ने कुरामा सबै एकजुट भएर लाग्नुपर्छ ।’
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले नयाँ आशा जगाएको उनको विश्वास छ । मन्त्री पुनले भने,‘नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको छ, संसारमा भएको विकास निश्चित व्यक्तिको हातमा परेको ईतिहाँस छ, हाम्रो देशको विकास र समृद्धिले गरिब जनताहरुको जीवनलाई सम्बोधन गर्नेछ, हाम्रो विकासको मोडल गरिब, निमुखा जनतातर्फ बढि केन्द्रित हुनेछ, यो नीति तथा कार्यक्रम सुझबुझकासाथ नै आएको छ ।’
सडक, कृषि र उर्जा लगायतका क्षेत्रलाई सरकारले विषेश प्राथमिकताको रुपमा अघि सारेको जनाए । उनले भने,‘अझैपनि दुईतिहाई जनताहरु कृषिमा निर्भर छन्, आधुनिक उर्जाको विकास, आधुनिक सिँचाई र आधुनिक कृषि प्राणालीको विकासले मात्रै कृषकहरुको जीवनमा परिर्वतन आउँछ, यसै वर्षमा तमोर, सुनकोशी, कालिगण्डकी, नौमुरे जस्ता बहुउद्देश्यीय जलविद्युत आयोजनाहरु सूरु हुँदैछन्, त्यस्तै भेरी डाईभर्सन निर्माणको काम अन्तिमतिर पुगेको छ, उर्जा क्षेत्रको विकासमा जनताको लगानी आवश्यक छ, समृद्धिको मालिक जनता आँफै हो ।’ 
खोला झोलामा बोक्ने प्रवृतिको अन्त्य हुन्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री पुनले भने,‘हरेक योजनाहरुको प्रगति विवरणका आधार लाईसेन्स दिने र सरकारको निगरानीमा राखेर आयोजनाहरु सञ्चालन गर्ने मन्त्रालयको रणनीति हो, खोला झोलामा बोकेर हिँड्ने दिन गईसके, त्यस्ता बिचौलियालाई समाजबाटै विस्तापित् गर्नुपर्छ, सरकारले काम गर्नेलाई सम्मान गर्ने र काम नगर्ने, लाईसेन्सको धम्की दिने, योजनाहरु होल्ड गर्ने प्रवृत्तिका मानिसहरुलाई छोड्दैनौं, यस्ता महत्वपूर्ण आयोजनाहरुमा बिचौलीयाहरुको चलखेल पूर्णरुपमा बन्द हुनेछ ।’
उर्जामन्त्री पुनले विद्युत चुहावटलाई रोक्नको लागि सरकार लागिरहेको पनि जनाए । उनले भने,‘विशेषगरि सिँचाईको समयमा ‘हुक’ गरेर बोरिङ गर्ने, विद्युत चोरी गर्ने काम हुन्छ, त्यसको अन्त्य गर्न सरकारले उर्जामन्त्रालय अन्र्तगत सोलार वितरण गर्ने र चोरी गर्नेलाई कारबाही गर्ने गरिरहेको छ, समुहमा सोलार वितरण गरेर सिँचाई गर्ने वातावरण निर्माण गर्ने र यस्ता गलत प्रवृतिको अन्त्य गर्नेमा सरकार लागि रहेको छ ।’
मन्त्री पुनले लामो समयदेखि विवादित बन्दै आएको बुढिगण्डकी आयोजनाको मुआब्जा तत्काल वितरण गरिने आश्वासन दिएका छन् । उनले भने,‘बुढिगण्डकी विद्युत आयोजनाको ४ अर्व मुआब्जा वितरण गरिसकेको अवस्था छ, बाँकी ६ अर्वपनि आगामी आर्थिक वर्ष अघिनै वितरण हुने कुरा जानकारी गराउँदछु ।’ मन्त्री पुनले बुढीगण्डकी आयोजनाको काम यही आर्थिक वर्षभित्रै सुरु हुनेपनि जनाए । 
अरुण तेस्रो निर्माणमा केही समस्या आएको छ अरे नि भनेर पत्रकारले सोधेको अर्को प्रश्नको जवाफमा मन्त्री पुनले भने,‘कुनैपनि समस्या वा विवाद छैन्, मन्त्रालयसमक्ष अहिलेसम्म कुनै पनि समस्या आईपुगेको छैन, केही आयो भनेपनि हामी समाधान गर्न तयार छौं।’
त्यस्तै उनले अरुण तेस्रो परियोजना लगानी बोर्डले अघि बढाएको पहिलो आयोजना भएकोले समयमै त्यसको निर्माणको काम सम्पन्न हुने पनि ठोकुवा गरे । उनले भने,‘उर्जा क्षेत्रको विकासमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सरकारले सिर्जना गर्छ, उर्जामा आधुनिकरण गर्नु आजको आवश्यकता हो ।’

५ बर्ष अगाडि

प्रतिक्रिया