सामाजिक सञ्जाल उपयोग गर्दै विपन्नलाई घर

४ बर्ष अगाडि

सामाजिक सञ्जालको दुरुपयोग गरेर सजाय भोग्नेहरु धेरै छन् । सामाजिक सञ्जालमा असामाजिक विषयवस्तु राखेकै कारण पक्राउ परेका घटनाहरु पनि पछिल्लो क्रममा धेरै सुन्ने गरिएकामा  यहाँ भने सामाजिक सञ्जालबाटै दुई विपन्न परिवारको घर निर्माण गरिएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुलीका केही सामाजिक अगुवा र युवाहरुको सक्रियतामा सामाजिक सञ्जालमार्फत दुई विपन्न परिवारका लागि घर निर्माण गरिनाका साथै  राम्रा काम गर्न सकिन्छ भन्ने दृष्टान्तसमेत प्रस्तुत गरिएको छ । 

उनीहरूले ‘सामाजिक समृद्धिका लागि नागरिक अभियान नवलपुर’ नामक फेसबुक पेज निर्माण गरेर विभिन्न सहयोगी दाताबाट अर्थ  र जिन्सी सङ्कलन गरेर देवचुली नगरपालिका–१२ का अपाङ्गता शुकबहादुर विक र  वडा नं १३ का आगलागी पीडित अशक्त ७२ वर्षीय भीमबहादुर रानाको घर निर्माण गरेका हुन् । । 

दुबै विपन्न भएका कारण राम्रो बास बस्ने स्थान नहुँदा कष्टपूर्ण रुपमा जीवनयापन गर्दै आएका थिए । स्थानीय खिमानन्द भुसाल, दीपक शर्मा, राजु चापागाईं, विश्वास लामिछाने, दीपक न्यौपाने र आकाश श्रेष्ठ  लगायतको टोलीले सामाजिक सञ्जालमार्फत घर निर्माणको अभियान चलाएर विभिन्न सहयोगीबाट रकम सङ्कलन गरी दुई घर निर्माण गरेको  थियो । भियानकर्ता  भुसालका अनुसार दुवै घर निर्माणका लागि व्यक्तिगत रुपमा कोही कसैसँग सहयोग मागिएको थिएन तर सामाजिक सञ्जालमार्फत गरिएको आह्वान र दाताहरुले सोहीबमोजिम  नै सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार नगद तथा  जिन्सी सामग्री सहयोग प्राप्त भएको थियो । “सामाजिक सञ्जालको सही प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन हामीले सञ्जालबाटै अभियान थालेका हौँ’, उहाँले भन्नुभयो, “यसले सबैमा सामाजिक सञ्जालको सकारात्मक प्रयोगमा उत्पे्ररण दिने विश्वास लिएका छौँ ।”
 
आगलागीबाट पूर्ण क्षति भएका अशक्त तथा विपन्न ७२ वर्षीय भीमबहादुर रानाको परिवारमा ७० वर्षीय श्रीमती र दुई नातिनीसहित चार परिवार छ । उहाँको घर गत चैतमा  आगलागी हुँदा पूर्ण क्षति भएको थियो । आगलागीबाट क्षति पुगेको घर निर्माण गर्न नसक्दा उनीहरुको पालकै बास हुँदै आएको थियो । सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान चलाएपछि ४९ विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरुबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएका थियो । प्राप्त सहयोगबाट टिनले छाएको पक्की घर निर्माण गरिएको छ । घरबारविहीन भएपछि विद्यालय जान  छाडेका रानाका दुई नातिनीलाई विद्यालय भर्ना गरी छात्रवृत्ति प्रदान गरेपछि अहिले उनीहरु विद्यालय जान थालेको अभियन्ता भुसालले बताउनुभयो  ।

हावाहुरीका कारण खरले छाएको घरको छानो उडाएपछि खुल्ला आकाशमुनि बस्दै आउनुभएका शुकबहादुरको समेत टिनले छाएको घर निर्माण गरिएको छ । “घरको छानो थिएन, सानो छाप्रो सबै भत्किएको थियो, अहिले यति राम्रो घर पाएको छु, साह्रै खुशी लागेको छ”, प्रफुल्लित हँुदै उहाँले भन्नुभयो । सामाजिक काम गर्ने उद्देश्यले  गत वर्ष फेसबुक पेज निर्माण गरेर काम शुरु गरिएको अभियानमा संलग्न युवा  राजु चापागाईंले बताउनुभयो  ।  विपन्न समुदायलाई सहयोग गर्ने  उद्देश्यले  निर्माण गरिएको यस अभियानमार्फत् छात्रवृत्ति वितरण, विद्यालय जान नसकेको बालबालिकालाई विद्यालयसम्म पुग्न  समन्वय गर्ने, आर्थिक अभावमा उपचार गर्न नसक्ने बिरामीका लागि सहयोग गर्नेलगायत सामाजिक कामसमेत गर्दै जाने उहाँले बताउनुभयो । “हामी सामाजिक सञ्जालको सकारात्मक अभियानमा धेरैभन्दा धेरै युवालाई समेट्दै जाने सोचमा छौँ”, चापागाईंले भन्नुभयो, “यसले युवाहरुमा सञ्जालको सही प्रयोगमा उत्पे्ररित गराउने विश्वास छ ।”
 

४ बर्ष अगाडि

प्रतिक्रिया