नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

४ बर्ष अगाडि

पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो । 

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो । गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । शिलान्यासको सात महीनापछि काम शुरु भएको छ । सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको छ । 

आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन । रुख काट्ने अनुमति नआएको र काम शुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको हो । पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए । 

दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको छ । रुख काट्न अनुमति भने अझै नआएको हुदाँ तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम शुरु हुने योजना प्रमुख अधिकारीले बताए । रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिने योजना प्रमुख अधिकारीले बताउनुभयो । त्यसअन्तर्गत लोकाहामा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम शुरु गरिएको छ । 

गैँडाकोटको थुम्सीबाट भने सडकमा रहेका सानासाना पानी निकासका लागि राखिएका ह्युम पाइपलाई फेर्ने, व्यवस्थित गर्ने काम गर्न लागिएको उनले बताए । अहिले पहिलो खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको काम शुरु गरिएको हो । रुख काटन अनुमति लिन, विद्युत्, खानेपानीलगायत सडक क्षेत्रभित्र पर्ने पूर्वाधारको व्यवस्थापनको विषय छलफल गरेर काम गर्नुपर्ने भएकाले समेत काम शुरु गर्न ढिलाइ भएको योजना प्रमुख अधिकारीले बताए । 

अब निर्माणको काममा कुनै बाधा नआए कामले गति लिने उहाँले बताउनुभयो । दोस्रो खण्डमा भने अझै काम शुरु हुन सकेको छैन । नारायणगढ– बुटवलखण्डलाई दुई भागमा विभाजन गरिएको छ । सोअन्तर्गत नवलपरासीपूर्व गैँडाकोटदेखि दाउन्नेसम्मको एउटा खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको अर्को खण्ड रहेका छन् । झण्डै ११३ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारको योजना यसै खण्डबाट शुरु गर्न लागेको हो । 

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको हो । सडक विस्तारका लागि झण्डै रु १७ अर्बमा ठेक्का लागेको छ । सडक विस्तारपछि चार लेनको हुनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । दुई दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ । 

तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालोतर्फ चढ्ने सवारीले प्रयोग गर्ने गरी दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन  प्रयोग गर्ने  गरी तीन लेनको सडक निर्माण गरिने योजना प्रमुख अधिकारीले बताए ।


कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनु पर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै शुरु भएको छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन धार्मिक विधि रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया