समाचार टिप्पणी

कृष्णभिरले निम्त्याएको संकट यथावत, राजधानीको लाइफलाइन अस्तव्यस्त

शुक्रबार, २६ भदौ २०८३, ०७ : १०

काठमाडौं - पृथ्वी राजमार्गको ‘कृष्णभिरमा आएको पहिरोले सिंगो राज्यलाई नै हायलकायल पारेको छ । आज १२ दिनसम्म पनि सडक सुचारु हुन सकेको छैन । जसको कारण मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन नै संकटग्रस्त भएको छ । दैनिक अत्यावश्यक वस्तुको आवागमन मात्र रोकेको छैन, आम यात्रुको आवागमनमा प्रत्यक्ष असर गरेको छ । संघीय राजधानी र पर्यटकीय राजधानी पोखराबीचको पर्यटक यात्रालाई समेत रोकेको छ ।

सडक अवरुद्ध भएको कारण सिर्जित असरले काठमाडौंमा आपूर्ति श्रृङ्खला ध्वस्त भएको छ । ग्यासको हाहाकारमाथि अब चिनीसहित अन्य अत्यावश्यक वस्तुको अभाव र कालोबजारी चुलिएको छ । कतिसम्म भने यही प्रकरणका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको जागीर समेत गयो । 

वैकल्पिक राजमार्गको बारेमा राज्यले नसोच्दा यो संकट वर्षेनी जस्तो आइरहेको छ । सरकारले वैकल्पिक राजमार्ग भनी तोकेका कान्ती लोकमार्ग, त्रिभुवन राजपथ वा बीपी राजमार्ग ठूला र हेभी सवारी साधन गुडाउन प्राविधिक रुपमा उपयुक्त छैनन् । सोहीकारण ग्यास बोकेका बुलेट काठमाडौं आउन सकेनन् ।जसको कारण ग्यास तराईमै सिलिन्डरमा भरेर ल्याउनुपर्ने झन्झट थपियो । यसले बजारमा अभाव र महँगी एकसाथ थप्यो । राज्य एउटै राजमार्गमा अत्यधिक निर्भर रहँदा यो समस्या देखिएको हो ।

अर्को वैकल्पिक राजमार्ग कान्ती लोकपथ समेत साना सवारीको चाप र जीर्ण पूर्वाधारले समस्यामा छ । अहिले हेटौंडाबाट मालबाहक सवारी साधन त्रिभूवन राजपथबाट काठमाडौं जाने र कान्ती लोकपथबाट फर्कने गरी व्यवस्था गरिएको छ ।

तर, दुबै राजमार्गको भौतिक अवस्था खराब छ । जब संकट आउँछ, त्यसपछि मात्र वैकल्पिक सडकको खोजी गर्ने राज्यको परिपाटीले यस वर्ष पनि निरन्तरता पायो । जसले गर्दा यात्रु, उपभोक्ता, सवारी चालक र यातायात व्यवस्थापनमा खटिएका स्थानीय प्रशासन र प्रहरी सबैले एकसाथ सास्ती भोग्नु परेको छ ।

यस अघि पनि मुग्लिन–नारायणगढ सडक खण्डमा पटक पटक पहिरो जाँदा सरकारले त्रिभुवन राजपथसहित हेटौंडा–काठमाडौं जोड्ने सडकलाई वैकल्पिक राजमार्गका रुपमा तोक्ने गरेको थियो । गत वर्ष दशैंको मुखमा तुइन खोला नजिक सुक्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भयो । नारायणगढबाट मुग्लिन वा त्यसभन्दा यता आउने सडकमा अवरोध सिर्जना हुँदा नेपालको पूर्व र पश्चिमबाट आएका सवारी साधनको डाइभर्ट विन्दु हुन्छ हेटौंडा ।

हेटौंडा र काठमाडौंबीच यात्राका तीन विकल्प छन् । एक, त्रिभुवन राजथप । यो हेटौडा–पालुङ–नौबिसे हुँदै काठमाडौं जोडिन्छ । यस वर्ष नागढुंगा नजिकै अर्को पहिरो थपिएको छ । त्यसलाई सुरुङमार्गले विकल्प दिएको छ ।

हेटौडा–ठिंगन–सातदोबाटो जोडिने कान्ती लोकपथ अर्को विकल्प हो । अर्को विकल्प हेटौडा–कुलेखानी–फर्पिङ जोड्ने साँघुरो सडक हो । यी दुई राजमार्ग दुई पाङ्ग्रे र साना सवारी साधनका लागि मात्र उपयुक्त छन् । तर, सरकारले यी राजमार्ग चुस्त र सबल राख्न पर्याप्त प्रयास गरेको छैन । जसले गर्दा हरेक वर्ष उस्तै सास्ती दोहोरिने गरेको छ । यो समस्याको दीर्घकालीन समाधानको लागि राज्य गम्भीर बन्न जरुरी छ । अहिले ट्रयाक खोल्न थालेको कृष्णभिरमा अर्को दरार देखिएकोले यो पनि स्थायी विकल्प नहुन सक्छ । यसको लागि सुरुङ्ग मार्ग नैे स्थायी विकल्प हुनसक्ने विज्ञहरुले बताउन थालेका छन् । सरकारको गृहकार्य पनि यसतर्फ अघि बढ्न आवश्यक छ । 

शुक्रबार, २६ भदौ २०८३, ०७ : १०

प्रतिक्रिया