माथिल्लो त्रिशूली १ मा लगानीका लागि ९ अन्तराष्ट्रिय बैंक छनौट, ४५ अर्ब जुट्यो

विहीबार, १४ कार्तिक २०७६, १५ : ११

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा लगानीका लागि ९ वटा अन्तर्राष्ट्रिय बैंक छानिएका छन् । 

आयोजना निर्माणका लागि लगानी गर्न चाहेका एक दर्जन बैंकबाट ९ वटा बैंक छानिएको आयोजना प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले जनाएको छ । 

छानिएका बैंकहरुले विश्व ब्यांकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को नेतृत्वमा २१६ मेगावाटको उक्त आयोजना बनाउन करीब ४५० मिलियन डलर (करीब रु. ४५ अर्ब) लगानी गर्नेछन् ।

आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय  वित्त निगम (आईएफसी) ले १७ करोड १० लाख, कोरियन निर्यात आयात (एक्जिम) बैंकले १० करोड, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईबी) ले ९ करोड, कोरियन डेभलपमेन्ट बैंक (केडीबी) ले ७ करोड  एसियाली विकास बैंक (एडीबी) ले ६ करोड, कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) ले ५ करोड डलर लगानी गर्ने नेपाल वाटरका महाप्रवन्धक गिरिराज अधिकारीले बताए । 

यस्तै नेदरल्यान्ड विकास बैंक (एफएमओ) ले ३ करोड ५० लाख, तेल उत्पादक राष्ट्रहरुको सङ्गठन (ओपेक) ले ३ करोड, फ्रान्सको प्रोपाक बैंकले २ करोड ५० लाख,  र  डलर  ऋण लगानी गर्ने पनि उनले बताए  । 

भोली (शुक्रबार) छनौट भएका लगानीकर्ताहरुसँग लगानी सम्झौता गर्न लागेको जनाएको प्रवद्र्धक कम्पनीले छ । 

आयोजनाको लागत ४५ करोड ३० लाख डलर रहेको छ । 

निर्माण अवधिको ब्याज (आईडीसी) समेत जोड्दा कूल  ६५ करोड डलर (करिब ७० अर्ब रुपैयाँ) मा आयोजना निर्माण सम्पन्न हुने छ । 

विदेशी लगानीकर्ताले ४५ करोड ३० लाख डलर लगानी गर्ने र बाँकी २० करोड डलर नेपाली साझेदार जेड कन्सल्ट र कोरियाका कम्पनीले स्वपुँजी (इक्विटी)  लगानी गर्ने छन् । 

निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्ने अनुमान गरिएको उक्त आयोजना  ऋण सम्झौता भएर नेपाल राष्ट्र ब्यांकले ऋण भित्र्याउने अनुमति दिनेबित्तिकै निर्माण शुरु हुने कम्पनीका महाप्रबन्धक अधिकारीले बताए । 

विद्युत उत्पादन भएपछि नेपाल विद्युत प्राधिकरणले सुख्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा आयोजनाको प्रवद्र्धक नेपाल वाटरसँग विद्युत गरिद गर्नेगरी पीपीए भएको छ । 

प्रवद्र्धक नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२ प्रतिशत, डेलियम इन्डिस्ट्रियल कम्पनी लिमिटेडको १६,  केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, आईएफसीको १२ प्रतिशत सेयर हुने छ भने नेपालको जेड कन्सल्टको १० प्रतिशत स्वामित्व छ । 

सन २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना रसुवा जिल्लामा निर्माण हुनेछ ।

विहीबार, १४ कार्तिक २०७६, १५ : ११

प्रतिक्रिया