हिमतालको प्रवद्र्धनमा गाउँपालिका

४ बर्ष अगाडि

कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र अवस्थित कफुचे हिमतालको प्रवद्र्धन शुरु गरेको छ ।

समुन्द्री सतहबाट दुई हजार ४५० मिटर उचाइमा मादी–१ मा अवस्थित कफुचेलाई विश्वकै सबैभन्दा कम उचाइमा रहेको हिमताल भएको दाबी गरिएको छ । रमणीय सो हिमतालको प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यअनुसार गाउँपालिकाले योजना अघि सारेको हो ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आउने हिमपहिरो पग्लिएर ताल बनेको बताइन्छ । एक हजार २०० वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गरेपछि पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ पग्लनु र ‘चे’समथर ताल भएकाले हिउँ पग्लेर बनेको ताललाई ‘कफुचे’ भन्ने गरिएको छ । डेढ दशकअघि सम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिने भए पनि जलवायु परिर्वतका कारणले हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने हिमतालसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधार निर्माण गरिने बताउँदै गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले भन्ने, हामीले पर्यटनलाई पालिकाको समृद्धिको प्रमुख आधार मानेका छौँ । सोही अनुसार विश्वकै कम उचाइमा अवस्थित हिमतालको प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउँछौँ ।

गाउँपालिकाले यसै वर्ष सिक्लेसदेखि हिमतालसम्मको बाटो मर्मतका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआता) तयार गर्ने भएको छ । पर्यटकहरु सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि पहिलो सडक पूर्वाधार अपरिहार्य रहेकाले तालसम्म नै सहज पैदलमार्ग निर्माण गर्ने योजना गाउँपालिकाको छ ।

पोखराबाट ५१ किमी दूरीमा अवस्थित कफुचे हिमताल पर्यटकीय गाउँ सिक्लेसबाट पाँच घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ । तालको प्रवद्र्धनका लागि हालै पहिलो पटक गाउँ कार्यपालिकाको ३९औँ बैठक आह्वान गरेर सबैको ध्यानाकर्षण गरिएको प्रमुख गुरुङको भनाइ थियो ।

गाउँपालिकाले हिमताललाई जिल्लाकै एकमात्र हिमताल रहेको र होचो स्थानमा समेत रहेकाले रामसार सूचीमा सूचीकृतका लागि पहल गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको छ ।

कफुचे लगायतका प्राकृतिक सम्पदाको व्यवस्थित विकासका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष डिपिआर तयारका लागि  २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता लालबहादुर गुरुङले बताए । उनले डिपिआर अन्तिम चरणमा रहेकाले सम्पन्न भएपछि सङ्घ र प्रदेश सरकारको सहयोगमा हिमतालको एकीकृत विकासका कार्यक्रम अघि बढाइने स्पष्ट पारे।     
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया