नवलपुरमा पर्यटकीय क्षेत्र निर्माणमा जोड

४ बर्ष अगाडि

नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरभित्रका पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको छ । पर्यटन नगर विकासको प्रमुख कडीका रुमा लिँदै नगरपालिकाले वर्षेनी यहाँका पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको छ ।

विभिन्न धार्मिकस्थल, प्राकृतिक ताल, मध्यवर्ती क्षेत्र, यहाँ रहेका घरबास, नारायणी तटीय क्षेत्र पर्यटनका सम्भावना भएका क्षेत्र हुन् । यसैलाई लक्षित गरेर विभिन्न योजना अगाडि बढाइएको छ । नगरकै अग्लो स्थान बालुवा डाँडामा दृश्यावलोन स्तम्भ निर्माणदेखि पर्यटन सूचना केन्द्र निर्माणको काम नगरपालिकाले थालनी गरेको छ ।

साठी फिट उचाइ र छ तलाको दृश्यावलोन स्तम्भ निर्माणको काम चलिरहेको छ ।स्तम्भबाट नवलपुरका पहाडी क्षेत्रसँगै समथर फाँट, नारायणी क्षेत्रको मनोरम दृश्य सहजरुपमा अवलोकन गर्न सकिने नगरपालिकाका आर्किटेक इञ्जिनीयर पवन रुपाखेतीले बताए।

करीब  एक करोड ८४ लाख ७६ हजार ६३३ को लागतमा दृश्यावलोन स्तम्भ निर्माण हुनेछ । नगरपालिकाले पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले पर्यटन सूचना केन्द्रसमेत निर्माण गरेको छ । सूचना केन्द्रका लागि कावासोती–१५ मा भवन निर्माण गरिएको छ ।

नगरपालिकाले पर्यटनको प्रबल सम्भावना भएको पोखरी तालको संरक्षणका काम गरिरहेको छ । यहाँ अहिले विभिन्न जनावरका मूर्ति राखिएको छ । नगरपालिकाले पोखरी तालको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोहीअनुसार योजनाबद्धरुपमा कार्य अगाडि बढाएको छ । पोखरीताल आन्तरिक मात्र नभएर बाह्य पर्यटकको समेत आकर्षको केन्द्र बन्ने इञ्जिनीयर रुपाखेतीले बताए ।

नगरभित्र रहेको टरुवाताललाई समेत पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै छ । तालसँगै रहेको गुम्बा र कैलाश मन्दिरलाई समेटेर पर्यटकीय क्षेत्र निर्माणका लागि पूर्वाधार निर्माणलाई जोड दिइएको छ । नगरभित्र रहेको गैँडाताललाई समेत पार्कको रुपमा विकास गर्न अहिले काम सञ्चालन भइरहेको छ । गैँडातालको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर पार्कको रुपमा विकास गर्दै लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै सेनकालीन इतिहाससँग जोडिएको महाराज थान मन्दिर, गङ्गेश्वर धाम, पिठौली लक्ष्मीनारायण मन्दिर बौद्ध छ्योलिङ गुम्बाको भौतिक विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी काम गरिरहेको नगर प्रमुख पुनले बताए ।

मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत उल्लेख्यरुपमा आउने गरेका छन् । मध्यनजर गरी यहाँ रहेको मध्यवर्ती वनसँगको साझेदारीमा वनभित्र ‘नाइट क्याम्पिङ टावर’ निर्माणको कामसमेत चलिरहेको छ । बस्तीदेखि तीन किलोमिटरको दूरीमा जङ्गलभित्र सो ‘नाइट क्याम्पिङ टावर’ निर्माण कार्य भइरहेको छ ।

अमलटारी क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेपछि यहाँ आउने पर्यटकलाई थप नयाँ अनुभूति दिलाउन यस्तो योजना अगाडि सारिएको हो । पर्यटकलाई रातको समयमा जङ्गल बसाईको फरक अनुभूति दिलाउन यसले मद्दत पुर्याउने छ”, नगर प्रमुख पुनले भन्ने,यसले पर्यटक आगमनलाई समेत बढाउने विश्वास लिएका छौँ ।

नगरपालिकाभित्रै घरवास सञ्चालनको क्रम समेत बढेको छ । नगरपालिकाको अनुदानमा कावासोती–१७ मा घरवास निर्माणको तयारी गरिएको छ । पर्यटकलाई लक्षित गरी घरवास स्थापनाको काम सञ्चालन गरिएको छ । नारायणी नदी किनार प्राकृतिकरुपले मनोरम भएकाले यस क्षेत्रमा घरवास स्थापना गर्न लागिएको छ ।

नयाँ जिल्लाको रुपमा विकास हुँदै गएको नवलपुरको सदरमुकामसमेत रहेको कावासोतीको भोलिको सम्भावना भनेको पर्यटन नै प्रमुख भएकाले यसैलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताए । यहाँको सम्भावना भनेको कृषि र पर्यटन हुनु, हामीले यसैलाई लक्षित गरी काम गरिरहेका छौँ, उनले भन्ने,भोलिको दिनमा यसले नगरलाई समृद्ध बनाउन सघाउ पुर्याउने छ ।    
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया