आरन पेशाबाटै मासिक ५० हजार आम्दानी

४ बर्ष अगाडि

दुईवटा खाँबाको धरन । डाँडाभाटा र बलाको भर । टिनको छाप्रो । त्यही छाप्रोमा छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौँ दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै धेरै दिनहरु बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको धेरै समय यसैमा बितेको छ ।

सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा सुरुगरेका हुन् । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको उनले बताए। टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।

मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन् । उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए । १२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बञ्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउँछन्।

उनले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनई बनाउने सीप पनि रहेको छ ।

आरनमा बनेको खुकुरीलाई न्यूनतम  तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके  एक हजार ५०० को दर तथा थेबेलाई  एक हजार २०० मूल्य पर्ने उनले जानकारी दिए । आरनबाट दैनिकरुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाब्ने)काम पनि हुन्छ ।

गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार कमाइ हुनेहुँदा  २० हजार बढी अन्नपातबाटै सङ्कलन हुन्छ । एक दर्जन हँसिया अर्जाबेबापत  ५०० तिर्नुपर्ने रेट रहेको छ । विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धानेका छन् ।

उनले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराको छुट्टाछुट्टै आरन चलाएका छन् । विदेश जाने हतियार पासपोर्ट पनि लिएका छैनन् । सानै उमेरमा पल्टन जाने भने पनि त्यसमा नभएको पीडा सुनाउँदै उनले यत्रो उमेर भइसक्दासमेत आफू अझै पोखरा पनि नगएको खुलासा गरे ।

उमेरले ५० औँ वसन्तमा घुम्दै गरेका हर्कबहादुरले फलामको साथै काठको काम गर्न पनि सिपालु छन् । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ (मोही) जस्ता सामान बनाउने आफूसँग सीप रहेको उनको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहक पुग्ने गरेका छन् ।

परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् । पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेबापत अन्नपात लिन्छन् ।     
     

४ बर्ष अगाडि

प्रतिक्रिया