नेविसंघ सभापति र महामन्त्रीबीच आरोप–प्रत्यारोप, काफ्लेले नेतृत्व अल्पमतमा छ भनेपछि महरले दिए यस्तो चूनौति

५ बर्ष अगाडि

काठमाडौं  । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए । 
साक्षात्कारमा नेविसंघ सभापति महरले सुरुमै संगठनको विधानअनुसार काम गर्न कुन्द काफ्ले नेतृत्वको समुहलाई आग्रह गरे । 
उनले भने,‘नेविसंघको आफ्नै विधि र विधान छ, हामी सबैले विधि÷विधानको कार्यान्वयन गर्नुपर्छ, मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर, खाली भएको स्थानमामात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक नबसि मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन, पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।’
सभापति महरले संगठनको विधि अनुसार तोकिएकै मिति साउन २३ गते महाधिवेशन सम्पन्न गर्न आफू लागिरहेको सुनाए । यद्धपी तोकिएकै मितिमा सम्पन्न गर्न नसके तीन महिनापछि महाधिवेशन गर्ने उनको भनाई छ । 
उनले भने,‘संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्व एकदम सक्षम छ, साउन २३ गतेको मिति विचारणीय छ, यदि त्यो समयमा महाधिबेशन भएन भने कार्तिक २३ गते हुन्छ, १ हजार भन्दा कम प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न हुनेछ ।’
त्यस्तै उनले नेविसंघलाई अन्तर्राष्ट्रियकरण गरेको जानकारी गराउँदै राष्ट्रियताको पक्षमा र समाजिक मुद्दाहरुको बारेमा पहिलो आवाज बोल्ने संगठन भएको दाबी गरे । 
उनले भने,‘२०२७ सालदेखि आजको दिनसम्म आउँदा कुनैपनि नेतृत्व सिमा मिचिदै गर्दा सिमाना उभिएर बिरोध गरेको थिएन, हामीले त्यो काम गर्यौ र संगठनलाई पहिचान युक्त बनायौं, वर्तमान सरकारल गरेको २६ वटा गल्तीहरुको सूचि बुझाएर तत्काल सच्चिन आग्रह गर्नेपनि हामी नै हो, सुनकाण्डको छानविन समिति सुतेको छ, सिण्डीकेटलाई प्रसय दिने काम भएको छ, काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सकेन, एसइइको जिपिएको रिजल्ट निकाल्दाको लापरवाहीले ५ लाख विद्यार्थीको भविष्य खराब पार्ने काम यो सरकारले नै गरेको हो, महिलाको अस्मितामाथि प्रहार गर्नेलाई कारबाही गर्न नसक्ने पनि यही सरकार हो ।’ 
त्यस्तै कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संघको नेतृत्वले संगठनलाई उचित रुपमा व्यबस्थापन गर्न नसकेको गम्भिर आरोप लगाए । 
महामन्त्रीले काफलेले भने,‘नेतृत्व अल्पमतमा छ, संगठनको विधि÷विधान अनुसार चलेको छैन्, संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं, पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं ।’
नेविसंघका सभापति र महामन्त्री दुवै नेताले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको खरो बिरोध गरेका छन् । नेपालको स्वास्थ्य र शिक्षालाई सरकारीकरणभन्दा सामुदायीककरण गर्न माग समेत गरेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया