अठार प्रतिशत घरधुरीमा ट्युवेल

४ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् । उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगञ्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वटा रहेका छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।  नेपालगञ्जमा अहिले दैनिक एक हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ । 

संस्थानले चार वटा ट्यवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ । शहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगञ्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगञ्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । 

उनका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी सङ्कलन गर्ने र पाइपबाट नेपालगञ्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका प्रमुख  भट्टले जानकारी दिए। पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेबीसँग रु दुई करोड ५७ लाखमा पाइपलाइन बिछ््याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग रु ५७ लाख २४ हजारमा सम्झौता भएको छ । पाइपलाइन बिछ््याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले समृद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ । संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा वितरण गर्ने जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया