खावामा घरवास सञ्चालनमा

४ बर्ष अगाडि

अरनिको राजमार्गको खावास्थित स्थानीयले पर्यटकलाई नयाँपन प्रदान गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाको वडा नं ५ मा रहेको सो स्थानमा स्थानीय बासिन्दा शर्मिला रञ्जितकारको नेतृत्वमा नौ घर मिलेर खावा सामुदायिक घरवास सञ्चालनमा ल्याएको हो । 

संस्कृति र रीतिरिवाजलाई प्रदर्शन गर्न र गाउँमा बाँझो जग्गामा खेती गर्न थालेका र रैथाने बालीको उत्पादनमा पुनःनिरन्तरता दिन घरवासले काम अगाडि बढाएको रञ्जितकारले बताए। अहिले त्यहाँका नौ घरमा आवश्यकताअनुसार पाहुनाका लागि एकदेखि दुईासम्म कोठा र भान्सा कोठाको व्यवस्थापन गरिएको छ । आसपासमा ठूला होटल भए पनि पाहुनाका लागि स्थानीय सांस्कृतिक पहिचानका बारेमा ज्ञान दिन र स्थानीयस्तरमा नै उत्पादन भएका वस्तुको स्वाद लिन पाउने गरी घरवासको शुरुआत गरेको अध्यक्ष रञ्जितकारले बताए । 

“घरवासबाट पाहुनालाई नयाँ खालको अनुभूति प्रदान गर्नका लागि हामीले यो सेवाको थालनी गरेका हौँ”, उनले भने । करीब ५०० मिटर दूरीको आसपासमा घरवास सञ्चालन गरेकाले पाहुनालाई आवतजावतमा थप सहजता बनाउनका लागि बाटो र दृश्यावलोकन गर्नका लागि हिँड्ने बाटोको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि वडा, नगरपालिका र प्रदेश सरकारलाई सहयोग गर्न घरवास सञ्चालकले अनुरोध गरेका छन् ।

वडाध्यक्ष बालकृष्ण सापकोटाले घरवासको प्रवद्र्धनका लागि खानेपानी र सडक निर्माणका लागि व्यवस्थापन गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी बजेटको व्यवस्थापन गरिसकेको र छिट्टै डिपीआर गरिने बताए । नगर प्रमुख महेश खरेलले घरवासको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका साथै पर्यटकको आवागमनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बाटो, खानेपानी र स्वच्छ वातावरण निर्माण गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर नगरपालिका साथ दिन तयार रहेको बताए। 

“यो नगरपालिकाकै पहिलो घरवास हो, यसको प्रवद्र्धन गर्नु नगरपालिकाको पनि दायित्व भएकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्न तयार छौँ”, उनले भने, “नगरपालिका धुलिखेलको वैकल्पिक खावा र नगरकोटको वैकल्पिक अनेकोट बनाउन आवश्यक व्यवस्थापनका लागि योजनाबद्धरुपमा अगाडि बढिरहेको छ ।” घरवासमा पाहुनालाई स्थानीय कृषि उत्पादनलाई बढावा दिँदै त्यहीँका जातीय र सामुदायिक पहिचानका लागि जोड दिने लक्ष्य लिएको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया