सेफ हाउस सञ्चालन गर्न सामग्री हस्तान्त्रण

४ बर्ष अगाडि


हिंसापीडित महिला र बालबालिकाका लागि सञ्चालनमा आउन लागेको अल्पकालीन आवास गृह (सेफ हाउस) सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ स्थित कमलदह छेवैमा सञ्चालनमा आउन लागेको सेफ हाउसका लागि संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष युएनएफपीएले आवश्यक सामग्री हस्तान्तरण गरेको हो । सिस्ने गाउँपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रकोे समन्वय तथा युएनएफपिएको आर्थिक सहयोगमा सेफ आउस सञ्चालनमा ल्याउन लागेको सिस्ने गाउँपालिकाले जनाएको छ ।    

युएनएफपीएका रुकुम ९पूर्व० जिल्ला संयोजक भुवन सेजुवाल र सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक सदस्य त्रिलोचन घिमिरेले सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराललाई सेफ हाउस सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । सेफ हाउस सञ्चालनका लागि लत्ताकपडा, फर्निचर, खाद्यान्न तथा भान्साका सामग्री हस्तन्त्रण गरिएको छ । यी सबै सामान रु तीन लाख ११ हजार ९५० बराबरको रहेको संयोजक सेजुवालले बताए ।   

हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनस्र्थापना नहुँदासम्म अल्पकालीन समयका लागि राखिने उद्देश्यले सेफ हाउस निर्माणको अवधारणा ल्याइएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । सेफ हाउस निर्माणका लागि सङ्घ सरकारबाट गत आर्थिक वर्षमा ३० लाख र यस वर्ष ३५ लाख गरी ६५ लाख बजेट विनियोजन गरिएको थियो । 

रुकुम (पूर्व)मा सुरक्षित अल्पकालीन आवासगृह ९सेफ हाउस० सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि यसअघि सम्पन्न भइसकेको छ । सेफ हाउस सञ्चालन कसरी गर्ने, क्षेत्राधिकार कति र काम गर्ने क्रममा आएका समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयवस्तुमा जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । 

अभिमुखीकरण कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी हुमा डिसीले गरेका हुन् । अभिमुखीकरण कार्यक्रममा सेफ हाउस सञ्चालनका लागि व्यवस्थापकीय पाटो कस्तो हुनुपर्छ र मनोविमर्शकर्ताको कस्तो भूमिका रहन्छ भन्ने विषयमा उहाँले अभिमुखीकरण कार्यक्रममा सहभागीलाई जानकारी गराएका छन् ।  

यसैबीच सेफ हाउस सञ्चालनका लागि समन्वय समिति र निर्देशन समितिसमेत गठन गरिएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा नौ सदस्यीय समन्वय समिति गठन गरिएको छ भने सिस्ने गाउँपालिका अधिकृत चिन्तामणि दाहालको अध्यक्षतामा सात सदस्यीय निर्देशन समिति गठन गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया