हाइड्रोपावर कम्पनीहरु अरुण भ्याली, अरुण काबेली, रिडी र रैराङ एक हुने भएका छन् ।
अरुण काबेली पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले यस्तो जानकारी दिएका हुन् ।
‘अरुण भ्यालीमा अरुण काबेलीलाई समाहित गर्ने तथा रिडी र रैराङ हाइड्रोलाई पनि एक बनाउने योजना रहेको छ’, अरुण काबेलीको नवौं साधारण सभामा बोल्दै उनले भने ।
अध्यक्ष न्यौपानले अर्को वर्षको दशैं अगाडीनै मर्जरको योजना रहेको बताए । कम्पनीले दँशैताका साधारण सभाको मिति तय भएपनि त्यो भन्दा अगाडि नै विशेष साधारण सभा गरेर मर्जरमा जाने दावी गरे ।
अहिले अरुण काबेलीको सेयर बजारमा पित्तलको भाउमा धमाधम बिक्री भएको भन्दै भोली सुनको भाउमा बिक्री हुनथालेपछि पछुताउनुपर्ने बताए ।
‘आत्तिएर सस्तोमा सेयर विक्री नगर्नुस्’, उनले सेयरधनीलाई आश्वस्त तुल्याउँदै भने, ‘अहिले बजारमा पित्तलको भाउमा विक्री भईरहेको छ, यसलाई सुन बनाएर विक्री गर्न चुक्नुहोला ।’
अध्यक्ष न्यौपानेले अरुण काबेलीले आफ्नो स्तरको मूल्य अवश्य कायम गर्नका लागि आधारहरु तयार भइरहेको समेत बताए ।
जलविद्युत् कम्पनीहरुको लाईसेन्सको अवधि ३५ वर्षदेखि बढाएर ५० वर्ष पु¥याउने विद्युत् नियमन आयोगको योजना रहेकाले जलविद्युत् कम्पनीको शेयर सुरक्षित रहने समेत उनले ठोकुवा गरे ।
साधारण सभामा अरुण काबेली पावरले अर्को वर्षदेखि शेयरधनीहरुलाई लाभांश दिने जानकारी दिइएको थियो ।
अरुण काबेलीले पाँचथर र ताप्लेजुङ्गको बीचमा बग्ने काबेली नदीबाट २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् परियोजनाको निर्माण गरी गत कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
सो परियोजनाबाट पहिलो वर्ष रू. ७६ करोड २८ लाख आम्दानी हुने प्रक्षेपण कम्पनीको छ ।
प्रतिक्रिया