चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसियु सेवा बन्द

शनिबार, १७ फागुन २०७६, ०८ : ११

लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ । 

ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ । सेवा समेत प्रभावित बन्न पुगेको छ । 

प्रदेश नम्बर २  सरकार र  लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा  २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।  

नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए । 

उनले भने “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ । तर कार्यान्वयन भएको छैन । ” 

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न ल २०७० सालमा सो केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०÷१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ ।  

सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा  बिरामीको चाप बढी छ । हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरी  सकेको जनाएको छ । 

केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । 

एम्बुलेन्स सेवासमेत रहेको केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको रु १२ लाखको आर्थिक सहयोगमा सोलार बत्ती तथा इन्भटर जडान गरी बिरामीलाई २४ सैँ घण्टा केन्द्रमा सेवा दिने तयारी समेत गरिएको छ । 

शनिबार, १७ फागुन २०७६, ०८ : ११

प्रतिक्रिया