बजारमा ८ लाख मास्क आउँदै, काठमाडौंमा सहज पाइने आशा

४ बर्ष अगाडि

बजारमा मास्कको अभाव र कालोबजारी भैरहेको बेला काठमाडौंमा थप ८ लाख मास्क बिक्रीवितरण हुने भएका छन् । 

नेपाल प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेका मास्क बिक्री गर्न महान्यायधिवक्ताको कार्यालयले निर्देशन दिएपछि बजारमा थप ८ लाख मास्क बिक्री हुने भएको हो ।  

सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै बरामद सो मास्क सर्वसाधारणलाई वितरण गर्न निर्देशन दिएका छन् ।  

खरेलले मास्कको मूल्य र नमुनासहितको अभिलेख राखेर बिक्री गर्न प्रहरीलार्य लिखित निर्देशन दिएका छन् । 

‘बरामद मास्क मुद्दाको कारबाहीका क्रममा मुद्दा हेर्ने निकायमा दसीस्वरुप पेश गर्दा बजारमा मास्कको अभाव भैरहने र अहिलेको विषम परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बृहद सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई उक्त अपराध अनुसन्धानको क्रममा निम्नअनुसार गर्न गराउनुहुन मुलुकी फौजादारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार निर्देशन दिइएको छ’, निर्देशनमा भनिएको छ ।

महान्यायाधिवक्ताको निर्देशनमा बरामद मास्कहरुको हालको बजार मूल्यअनुसार साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट बिक्री गर्न भनिएको छ । 

विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढेपछि नेपाली व्यपारीहरुले मास्क लुकाएर कालोवाजारी गरेका थिए । 

प्रहरीले काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा छापा मारेर ठुलो संख्यामा मास्क जफत गरेपनि कानुनी प्रक्रिया पूरा नभएसम्म मास्क गोदाममै थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको बताएका थियो । 

महान्यायधिवक्तको निर्देशनपछि अब भने जफत गरिएका मास्क बजारमा बिक्री हुनेबाटो खुला भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया