पार्टीमा सिद्धान्त र विचारभन्दा फोटो प्रचार गर्ने पुँजीवादी शैली हुर्केको छ  : सहअध्यक्ष श्रेष्ठ

५ बर्ष अगाडि

                                                                 
काठमाडौँ – सङ्घीय समाजवादी फोरम, नेपालको काठमाडौँको ताम्सिपाखा, पुस्पलालपथमा भएको एक भेलामा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा सच्चा सङ्घवादी पार्टी निर्माण हुन कठिन रहेको कुरा बताए । उनले नेपालमा सात दशक अगाडीदेखि नै नेपाली काङ्ग्रेसले लोकतन्त्र र समाजवादको वकालत गरेको र कम्युनिष्ट पार्टीले पनि जनताको जनवाद र समाजवादकै वकालत गरेको बताउँदै समाजवाद र लोकतन्त्रका लागि मात्र हो भने सङ्घीय समाजवादी फोरम स्थापनाको औचित्यता नरहने र समाजवादका लागि काङ्ग्रेस र कम्युनिष्ट पार्टी भए पुग्ने बताए । 
नेता श्रेष्ठले आफ्नो पार्टीको स्थापना उत्पीडित राष्टियताहरूको मुक्तिका लागि सङ्घवादका सिद्धान्तहरूको कार्यान्वयन, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक समावेशी लोकतन्त्र, जातीय समानता र सहअस्तित्वलाई जोड दिँदै बहुराष्ट्रियतामा आधारित सङ्घीय समाजवाद स्थापनाका लागि भएको बताए । उनले पार्टीका नेता कार्यकर्ताहरूमा पार्टीको विचारभन्दा नेताहरूको फोटो प्रचार गर्ने पूँजीवादी शैली हुर्केको बताए । उनले स्वस्थानीका कथामा महादेवले विष पनि पिएर अरुको उदार गरे जस्तो नेताहरूले जनताको उदार गर्छ भनेर सोच्नु समाजलाई नबुझ्नु हो भने । उनले ‘व्यक्तिभन्दा पार्टी र नेताभन्दा नीति ठूलो’ भन्ने अवधारणालाई समाउन सके मात्र पार्टीभित्र सङ्घीय समाजवादी वैचारिक जग बलियो हुने भएकाले यस दिशामा लाग्नुपर्ने बताए । 
सहअध्यक्ष श्रेष्ठले अव हुने पार्टीको स्थानीय तथा प्रदेश अधिवेशनहरूमा तलैबाट निर्वाचित प्रतिनिधिहरू आउने र तिनीहरूले गुणात्मक ढङ्गले फड्को मार्न सक्ने गरी नेतृत्व चयन गर्ने बताउँदै सबै नेता कार्यकर्ताहरू स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने बताए । उनले तदर्थ समिति वा आयोजक समिति भने पार्टी विधान बमोजम माथिल्लो समिति वा तोकिए बमोजिमको भेलाबाट गठन हुने बताए । तदर्थ समितिको काम भनेको पार्टी विधानको धारा ६० अनुसार अधिवेशनबाट निर्वाचित समिति गठन नभएसम्मका लागि मात्र भएको बताउँदै आगामी कार्तिकभित्र स्थानीय तहको र मङ्सीरभित्र प्रदेश र भातृ सङ्गठनहरूको अधिवेशन गर्नुपर्ने बताए । 
सांसद श्रेष्ठले पार्टीमा धृतराष्ट्रको पुत्रमोहजस्तो आफू नजिकका कार्यकर्तालाई मात्र च्याप्न खोज्ने ‘घृतराष्ट्र प्रवृत्ति’ र नेताहरूलाई महानायक जस्तो ठानेर चाकरी गर्ने ‘सकुनी प्रवृत्ति’ दुबै घातक भएकाले त्यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाएर मात्र सच्चा सङ्घवादी र समाजवादी पार्टी बन्न सक्ने भन्दै काङ्ग्रेस र कम्युनिष्टभन्दा फरक नयाँ ढङ्गको पार्टी निर्माणमा जोड दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया