काठमाडाैंकाे नागार्जुन नगरपालिकाले लकडाउनको अवधिमा अस्पताल गएर उपचार गर्ने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा सुत्केरी भएका आमा वा बच्चालाई पाँच हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ ।
नगरपालिकाले उपचार गराएको अस्पतालको कागजात हेरेर वडा कार्यालयले सिफारिसमा साे सहयोग गर्ने घोषणा गरेको नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए।
कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका क्रममा जनततालाई राहत दिन नगरपालिकाले अन्य कार्यक्रम पनि ल्याएकाे छ ।
अहिले वडा कार्यालयमार्फत फाराम भर्दा आठ हजार मजदूर एवं विपन्न वर्गले राहत माग गरेका छन्।
सबैलाई सम्बोधन गर्न कोषबाट एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने अहिलेकाे लागि विपद् व्यवस्थापन कोषबाट पहिलो चरणमा १० वटै वडालाई चार/चार लाख रुपैयाँ दिएको पनि उनले बताए। यही बजेटबाट आवश्यक स्वास्थ्य सामग्री पनि खरिद गरिनेछ।
तर राजधानीको काठ क्षेत्रका नगरपालिकामा लगत संकलनका लागि फाराम भराउँदा सबैले पाउने जस्तो बुझाई स्थानीयवासीमा देखिएको छ। विसं २०७२ को भूकम्पका बेला गैरपीडितले पनि राहत लिएको तथ्य सार्वजनिक भएको थियो। स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दा वडामा मजदूर एवं विपन्न वर्गको तथ्याङ्कसमेत संकलन नहुँदा विपद्का बेला यो समस्या आइपरेको हो।
विभिन्न वर्गमा छुट्याएर नगरस्तरीय जनगणनाका बेला तथ्याङ्क लिएको भए महामारीका बेला यस्तो समस्या आउने थिएन। गोकर्णेश्वर नागरिक समूहका अध्यक्ष नोर्साङ शेर्पा स्थानीय सरकारले समयमा काम नगर्दा राहत वितरणमा कठिनाइ हुने अवस्था आएको बताउँछन्। यसपटक पाठ सिकेर प्रत्येक वर्गका मानिसको तथ्याङ्क जनताको नजिकको सरकारसँग हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया