अमेरिकले आफ्नो देशमा औषधी पठाउन भारतसँग आग्रह गरेको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मलेरियाविरुद्ध प्रयोग हुँदै आएको क्लोरोक्वाइन नामक औषधीको रोक्का फुकुवा गरी अमेरिका पठाउन भारत सरकारलाई अनुरोध गरेका हुन् ।
भारतले आफ्नै देशभित्र आवश्यक पर्न सक्ने भन्दै क्लोरोक्वाइड सहित २६ प्रकारका औषधीको निर्यात रोक्का गर्ने निर्णय गरेको थियो ।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले त्यो औषधी कोभिड–१९ का बिरामीलाई उपयोगी हुनसक्ने दाबी गर्दै औषधी नरोक्न भारतलाई आग्रह गरेका हुन् ।
ट्रम्पले दावी गरेको त्यो औषधी कोरोनाका लागि प्रभावकारी हुन्छ कि हुँदैन भन्ने वैज्ञानिक प्रमाण भने अझै जुटिसकेको छैन।
भारतमा क्लोरोक्वाइन निकै धेरै परिमाणमा उत्पादन हुने गरेको छ।
यसैबीच, जापानले फ्लूका कारण हुने रुघाखोकी र ज्वरोको उपचारमा प्रयोग हुँदै आएको एउटा औषधीको उत्पादन बढाउने घोषणा गरेको बीबीसीले जनाएकाे छ ।
चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले त्यो औषधीको उत्पादन बढाउन लागेको हो।
जापानी कम्पनी फुजीफिल्मले उत्पादन गरेको एभिग्यान नामक औषधीको चिनियाँ शहर वुहानमा परीक्षण गरिएको थियो। त्यही शहरमा कोरोनाभाइरसको प्रकोप पहिलोपटक सुरु भएको थियो।
चीनमा गरिएको परीक्षणमा त्यो औषधी दिइएपछि भाइरसको वृद्धि हुने दर घटेको र बिरामीहरूमा कोभिड-१९ का लक्षणहरू घटाउन सहयोग पुगेको चिकित्सकहरूले बताएको भनिएको छ।
अहिले टोक्योले एभिग्यानको उत्पादन बढाउने घोषणा गर्दै अर्को वर्षसम्म २० लाख मानिसलाई पुग्ने गरी त्यसको उत्पादन बढाइने बताएको छ।
तर अन्य देशका अधिकारीहरूले त्यो औषधी अझै पूरै प्रभावकारी नभएको भन्दै त्यसले गर्भवती महिलामा खराब असर गरेको बताइरहेका छन्।
त्यो औषधीको जापानमा जारी पहिलो परीक्षण जून महिनामा पूरा हुँदैछ।
जापान सरकारले चाहिँ इच्छुक देशहरूलाई त्यो औषधी नि:शुल्क वितरण गर्न सकिने सङ्केत दिएको छ।
प्रतिक्रिया