नेपालमा ९५ जना आइसोलेसनमा, ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा

मंगलबार, २५ चैत्र २०७६, १२ : २६

नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि ९५ जना ९५ जनाको आइसोलेसनमा उपचार भैरहेको तथ्यांक सार्वजनिक भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै ९५ जना उपचारत रहेका बताए । कोरानाको संभावित जोखिमपछिको उपचारका लागि देशभर गरेर ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको उनको भनाई छ । 

त्यस्तै मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ र ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेको प्रधानमन्त्रीले जानकारी दिए । 

‘सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ’, उनले भने । 

यो अवधिमा सातै प्रदेशमा १० परीक्षण केन्द्रबाट पिसिआर (पोलिमरेज चेन रियाक्सन) प्रविधिमार्फत परीक्षण शुरु गरिएको पनि उनले जानारी दिए । जसमा  हिजो सोमबारसम्म १ हजार ८ सय ९०  जनाको परीक्षण गरिसकिएको उनले बताए। 

साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण र्‍यापिड डिटेक्सन टेस्ट (आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको पनि उनको भनाई छ । 

नेपालमा अहिले सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट(पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । 

भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै रहेको प्रधानमन्त्रीले बताए । 

मंगलबार, २५ चैत्र २०७६, १२ : २६

प्रतिक्रिया