कोरोना भाइरस संक्रमित १३ जनाको स्वास्थ्य अवस्था

मंगलबार, ०२ बैशाख २०७७, १८ : ०४

कोरोनाभाइरस सङ्क्रमण भएर नेपालका विभिन्न स्थानका चार अस्पतालमा उपचाररत १३ जनामध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालका अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार बिरामीलाई अस्पतालबाट बिदा गर्नुअघि भाइरसमुक्त भएको पुष्टि गर्न थप परीक्षण गर्नुपर्छ। त्यही विधिअनुसार केही पुराना बिरामीको नमुना प्रयोगशाला पठाइएको छ।

कोरोनाभाइरस सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै कैलालीका चार जना छन्।

कैलालीका चार जना र कञ्चनपुरका एक जना गरी पाँच जनाको हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उनीहरूको पछिल्लो स्वास्थ्य सामान्य रहेको उक्त अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए। उनिहरूको दोस्रो परीक्षण पनि पोजिटिभ आइसकेको अवस्थामा प्रोटोकलअनुसार लगातार दुईवटा परीक्षणहरू आएपछि मात्रै हामीले घर पठाउन मिल्छ। त्यसैले अस्पतालको आइसोलेशन कक्षमा राखेर उनिहरूको सामान्य उपचार गरिरहेका छौँ ।

उपचार गराइरहेका पाँच जनामध्ये दुबईबाट आएका व्यक्तिमा सुरुमा ज्वरो र सुक्खा खोकीजस्ता सामान्य लक्षणहरू देखिएको उनले बताए।

उनलाई अहिले आइसीयूमा वा भेन्टिलेटरमा राख्नुपर्ने खालको जटिल स्वास्थ्य समस्या देखिएका छैन। त्यसबाहेक बाँकी चार जनामा त त्यस्तो कुनै समस्या नै छैन डा. जोशीले बीबीसीलाई बताएका  छन् ।  

केही दिनअघि पर्सामा भटिएका तीनै जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।  

बागलुङमा दुई महिलामा सङ्क्रमण देखिएको थियो। ती दुवै जनाको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको पछिल्लो अवस्थाबारे उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने, पहिला भर्ना हुनेको त कुनै लक्षण छैन। खासै अहिले औषधिको जरुरी परेको पनि छैन। तर पछि भर्ना हुने ६५ वर्षीया महिलाको दम र उच्च रक्तचापको समस्या पुरानै रहेछ। त्यसका लागि औषधिहरू नियमित दिइरहेका छौँ।  

कैलालीमा वीरगञ्जबाट आएकी एक महिला र रौतहटमा क्वारन्टीनमा रहेका एक युवकमा सङ्क्रमण पुष्टि भएको छ ।  

ती दुवै जनाको पुन परीक्षणका लागि नमुना पठाइएको पोखरेलले बताए।

पहिलो सङ्क्रमितको दोस्रो स्वाब पनि पोजिटिभ आयो। र तेस्रो स्वाबको परिणाम आउन बाँकी छ, उनले भने, पैँसट्ठी वर्षीया महिलाको पनि दोस्रो स्वाब परीक्षणका लागि पठाउँदा त्यसको परिणाम पोजिटिभ नै आएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने दोस्रो र तेस्रो व्यक्तिको काठमाण्डूमै उपचार भइरहेको छ।

नेपालमा पहिलो सङ्क्रमण चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको थियो।

उनी उपचारपछि केही समयमै निको भएर घर फर्किसकेका थिए।

मंगलबार, ०२ बैशाख २०७७, १८ : ०४

प्रतिक्रिया