जुम्लाको उर्थुबाट मुगुको राराताल जोड्ने सडकको काम आजदेखि अघि बढेको छ । लकडाउनका समयमा यहाँस्थित भौतिक पूर्वाधार कार्यालयले सो सडकको स्तरोन्नतिको काम शुरु गरेको हो । लकडाउनका कारण गाडी बन्द भएकाले सडकको काम गर्न सजिलो हुने कार्यालय प्रमुख रुपबहादुर रावलले बताए।
कर्णाली प्रदेश सरकारको रु २३ करोड बजेटमा ठेक्का लिएको पूर्वाधार कार्यालयले चार चरणमा स्तरोन्नतिको काम गर्न थालेको हो । पहिलो चरणमा पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकासँग समन्वय गरी सो सडकको स्तरोन्नतिको काम शुरु भएको कार्यालयका प्रमुख रावलले बताए । सडक डिभिजन कार्यालयले पनि लकडाउनका समयमा पातारासी गाउँपालिकाको चौथामा सडक मर्मत गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।
पोखरी गाउँका घरघरमा धारा
तिला गाउँपालिका वडा नं ७ पोखरी गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ । पहिले गाउँमा एक धारोले काम चलेको र पछिल्लो समयमा गाउँमा छ धारा निर्माण भए पनि स्थानीयवासीमा पानीको आवश्यकता धान्न नसकेपछि अहिले घरघरमा धारा ल्याइएकाले गाउँवासी निकै हर्षित भएको स्थानीयवासी तुलवीर रोकायाले बताए ।
यहाँका ५६ घरघुरीको प्रत्येक घरमा खानेपानी धारा निर्माणमा तिला गाउँपालिका र हातेमालो सेवा समाजको रु १७ लाख लगानीमा एक घर एक धारो निर्माण भएको वडाध्यक्ष हस्तबहादुर बुढाले बताए ।
प्रत्येक घरको आँगनमा बाल्टिनसँगै साबुन राखिएको छ । घरमा आउने पाहुनादेखि घरपरिवारले हात धोएर मात्र घरभित्र प्रवेश गर्न नियम बनाइएको स्थानीयवासी रुपकला रोकायाले बताए ।
पोखरी खानेपानीका सचिव धनबहादुर रोकाया पर्याप्त खानेपानीको व्यवस्थाले गाउँलेमा सरसफाइ गर्ने बानीमा सुधार ल्याएको बताए ।
प्रतिक्रिया