रुकुमका २ जनामा कोरोना भाइरस पोजेटिभ, हेटौंडामा ४ जनाकाे एन्टीबडी पोजेटिभ

विहीबार, ०४ बैशाख २०७७, २० : ११

 पश्चिम रुकुमको चौरजहारीका दुई पुरुषमा कोरोना भाइरस (कोभिड–१९) परिक्षणको रिपोर्ट पोजिटिभ आएको छ। 

भारतबाट आएका ३६ र ५६ वर्षका पुरुषको स्वाब परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सेती प्रादेशिक अस्पतालका चिकित्सकले जनाएका छन् । 

र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि धनगढिस्थित  सेती प्रादेशिक अस्पताल  पठाएको थियो।

उनीहरुको स्वाव फेरी परिक्षणका लागि काठमाडौं पनि पठाइएको कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वालाले बताए । उनीहरु भने चौरजहारीमै रहेको आइसोलेसनमा छन् । 

यस्तै  र्‍यापिड टेष्टमा हेटौंडामा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । 

हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा  ४० जनाको र्‍यापिड टेष्ट गर्दा एक महिला र ३ पुरुषको एन्टीबडी पोजेटिभ देखिएको हो ।

उनीहरुमध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तको घर आएकी ५५ बर्षीय महिला, भारतबाट फर्किएका हेटौंडा–२ का ६७ बर्षका पुरुष, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षका युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षका युवक रहेको हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताए ।

उनीहरुमा कोरोना संक्रमण भएको वा नभएको पुष्टि गर्न प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 
 

विहीबार, ०४ बैशाख २०७७, २० : ११

प्रतिक्रिया