कञ्चनरूपमा बल्ल राहत शुरु

शुक्रबार, ०५ बैशाख २०७७, १५ : १३

सप्तरीको कञ्चनरूप नगरपालिकाले लकडाउनबाट प्रभावितलाई राहत वितरणका लागि रु ४३ लाख विनियोजन गरेपछि आजदेखि राहत वितरण शुरु गरिएको छ । कञ्चनरूप नगरपालिकाका १२ वटै वडाहरूले अत्यधिक सङ्ख्यामा गरिब, विपन्न रहेको तथ्याङ्क पेश गरेपछि रकम विनियोजन हुन नसक्दा राहत वितरण हुन सकेको थिएन । नगरपालिका अनुसार वडाअध्यक्ष संयोजक रहेको सर्वदलीय संयन्त्रले ठूलो सङ्ख्यामा राहत पाउनेको नामावली बुझाएपछि नगरपालिकाले रकम विनियोजन गर्न नसकेको हो । 

नगरपालिकाले दैनिक मजदुरी गरेर खाने अति विपन्न, संकटापन्न र गरिब परिवारलाई राहत दिने भएपछि नगरपालिकाको १२ वटा वडाबाट सात हजार २२४ घरधुरी विपन्नहरूको नामावली सङ्कलन भएको थियो । नगर प्रमुख बसन्तकुमार मिश्रले सबै वडाका समितिलाई छुटा–छुट्टै राखेर वास्तविक गरिब छनोट गर्न आग्रह गरेपछि राहत पाउनेको सङ्ख्या घटेर ६ हजार ३७९ घरधुरी कायम भएको छ ।
    
राहत पाउनेमा करिब एक हजार सङ्ख्या घटेपछि ४३ लाख एक हजार विनियोजन गरिएको जानकारी दिँदै नगर प्रमुख मिश्रले प्रदेश २ सरकारले पठाएको १५ लाख जोडेर कोरोना भाइरस राहत कोषमा रु. ५८ लाख जम्मा भएको बताए । मिश्रको अध्यक्षतामा बसेको बैठकले प्रत्येक वडालाई चार लाख र विपन्नताको सङ्ख्याका आधारमा थप रकम गरेर बजेट विनयोजन गरिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का अध्यक्ष राजकुमार साहले बताए । 
    
सबैभन्दा बढी रकम वडा नं ५ ले पाँच लाख ४० हजार प्राप्त गरेको छ । यस्तै ११ ले पाँच लाख २२ हजार, ३ ले पाँच लाख १३ हजार, ४ ले पाँच लाख ११ हजार र वडा नं ९ ले पाँच लाख चार हजार रकम पाएको छ । त्यसैगरी १ ले चार लाख ९४ हजार, ६ ले चार लाख ५७ हजार, ७ ले चार लाख ६५ हजार, ८ ले चार लाख ८२ हजार, १० ले चार लाख ६२ हजार र १२ ले चार लाख ३१ हजार रकम पाउने गरी रकम विनियोजन गरिएको प्रवक्ता साहले बताए । सबैभन्दा कम रकम वडा नं २ ले चार लाख २० हजार पाएको छ । 
    
कार्यपालिकाको बैठकले रकम विनियोजन गरी वडागत रूपमा पठाएपछि आजैबाट राहत वितरण गरिने नगरपालिकाका सदस्यले जानकारी दिनएका छन् । कञ्चनरूप नगरपालिकाको वडा नं ८ ले आजदेखि राहत वितरण गर्ने भएको छ । परिवार सङ्ख्याको अधारमा तीन किसिमको प्याकेज बनाएर राहत वितरण गर्ने तयारी वडा कार्यलयले गरेको छ । चार जनासम्मको परिवार, आठ जनासम्मको परिवार र सो भन्दा बढी सङ्ख्याको परिवारलाई फरक परिमाणको राहत सामग्री वितरण गर्न लागिएको वडा नं ८ का वडा अध्यक्ष राजकुमार साहले बताए। यस वडामा एक हजार ३३६ घरधुरी रहेकोमा ४६८ विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको छ ।
 

शुक्रबार, ०५ बैशाख २०७७, १५ : १३

प्रतिक्रिया