दैलेखका स्थानीय तहमा रहेका क्वारेन्टाइन खाली भएका छन् । क्वारेन्टाइनमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि समय पूरा गरी उनीहरु घर फर्किएपछि क्वारेन्टाइन खाली भएका हुन् । भारतलगायत अन्य मुलुकबाट आएका २७७ जनाले १८ दिन बस्नुपर्ने मापदण्ड पूरा गरेका र उनीहरुमा कोरोना सङ्क्रमण नभएको जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए ।
उनीहरु गत चैत महिनामा घर फर्किएका थिए । उहाँका अनुसार उनीहरूको स्वाब परीक्षण तथा आरडिटी परीक्षण विधि दुवै रिपोर्ट नेगेटिभ आएको हो । चामुण्डा विन्द्रासैनी नगरपालिकामा १२०, दुल्लु नगरपालिकामा २०, आठबीस नगरपालिकामा ८३, डुङ्गेश्वर गाउँपालिकामा छ, भगवतीमाई गाउँपालिकामा सात, महाबु गाउँपालिकामा ३४ र नौमूले गाउँपालिकामा एक जना गरी कूल २७७ जनालाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा राखिएको रेग्मीले राससलाई बताए।
“शुक्रबार मात्र १६ जनाको रिपोर्ट नेगेटिभ आउँदा उनीहरूलाई आफ्नै घरमा जान अनुमति दिएपछि क्वारेन्टाइन रिक्त भएका हुन्”, उनले भने, “उनीहरुलाई घरमा सुरक्षित बस्न र कुनै समस्या आए स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा जानकारी गराउन सुझावसहित आग्रहसमेत गरिएको छ ।”
दैलेखमा चार नगरपालिका र सात गाउँपालिका गरी ७०९ श्ययाका क्वारेन्टाइन र ७४ श्ययाका आइसोलेसन तयार गरिएको थियो भने भारतबाट घरमा फर्केका एक हजार ४६२ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । शुक्रबारदेखि क्वारेन्टाइन खाली भए पनि कसैलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखा परे उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखिने उनले बताए ।
प्रतिक्रिया