बन्दाबन्दीमा पशुपति र शङ्खमूलमा वाग्मती सफाइ

शनिबार, ०६ बैशाख २०७७, १९ : ४५

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा पनि वाग्मती सफाइ महाअभियानलाई केही अभियानकर्मीले निरन्तरता दिएका छन् । 

महाअभियानको ३६२औँ हप्तामा पशुपति क्षेत्रको वाग्मतीमा पाँच जना र शङ्खमूल क्षेत्रको नदी किनारमा पनि पाँच जनाले सफाइ गरेका छन् । पशुपतिमा अभियानकर्मी एवम् अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेल र शङ्खमूलमा अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ अभियान जारी रहेको हो । 

दुवै स्थानमा भएको सफाइको बारेमा अभियानकर्मी किशोरसिँह शाहीले सामाजिक सञ्जालमा तस्विरसहित जानकारी दिएका छन्  । दुवैतिर करिब एक घण्टा सफाइ भएको अभियानकर्मी खरेलले बताए । शुरु हुनुअघि अभियानकर्मी शाहीले नै वाग्मती सफाइ महाअभियानका स्वयंसेवीको सामाजिक सञ्जालको समूहमा नारा राखेका थिए । अन्त्यमा पनि उहाँले नै नारा राखेसँगै सफाइ समापन गरिएको हो ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको सक्रियतामा शुरु भएको महाअभियान बन्दाबन्दी अघि प्रत्येक हप्ताको शनिबार बिहान सात बजेखि नौ बजेसम्म दुई घण्टा जस्तोसुकै कठिन परिस्थितिमा पनि जारी थियो । चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू भएपछि चैत १५ गते शनिबार ३५९औँ हप्ताको सफाइ अवरुद्ध भयो ।

त्यसदिन सबै अभियानकर्मीले आ, आफ्नो घरअघि सफाइ गर्न पूर्वसचिव एवम् अभियानकर्मी किशोर थापाले आह्वान गरे बमोजिम सञ्चालन भएको थियो । यस बाहेक चिसो, गर्मी, झरी, चाडपर्व जस्तोसुकै अवस्थामा पनि राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा नाराले अभियान निरन्तर जारी छ । ३६०औँ हप्तादेखि भने वाग्मती किनारमा घर भएका केही अभियानकर्मीले नदीमै प्रवेश गरेर सफाइ गरी निरन्तरता दिएका छन् ।

वाग्मती नदीभन्दा टाढा घर हुने अभियानकर्मीले भने घर एवम् टोल टोलमा सफाइ अभियानलाई निरन्तरता दिएको जनाइएको छ । सबै अभियानकर्मीले सामाजिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अवलम्बन गरी काम गरिरहेका छन् । 
 

शनिबार, ०६ बैशाख २०७७, १९ : ४५

प्रतिक्रिया