कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का बेला पेशा गर्न नपाएर अन्नको जोहो गर्न नसकेका मजदुरका लागि काठमाडौँको बसुन्धरास्थित साउथवेष्टन स्टेट कलेजले आज राहत सहयोग उपलब्ध गराएको छ ।
कलेजले यहाँस्थित टोखा नगरपालिकालाई २५ बोरा चामल, छ बोरा दाल र एक बोरा नुन सहयोग उपलब्ध गराएको हो । कलेजका प्रिन्सिपल डा राजेन्द्र केसी तथा सहायक प्रिन्सिपल हरिसिंह केसीले आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई उक्त राहत सहयोग हस्तान्तरण गरेका थिए । समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पुगोस् भनेर कलेजले नगरपालिकालाई सहयोग गरेको बताउँदै सहायक प्रिन्सिपल केसीले सामाजिक उत्तरादायित्वअन्तर्गत आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
सरकारले वर्तमान अवस्थामा मजदुरहरुलाई राहत उपलब्ध गराउने जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तह र प्रदेश सरकारले यसका लागि कोष स्थापना गरेर राहत वितरण गरिरहेका छन् । उक्त कोषमा विभिन्न संस्थाले सहयोग गर्दै आएको छ । सरकारले कसैलाई पनि व्यक्तिगतरूपमा जथाभावी राहत उठाउन रोक लगाएको छ भने कुनै संस्थाले आन्तरिक कर्मचारीबाट राहत उठाएमा एक साताभित्रै सरकारी राहत कोषमा जम्मा गर्न भनेको छ ।
प्रतिक्रिया