‘पूर्व स्वास्थ्य राज्यमन्त्री यादवको अपहरण’

बुधबार, १० बैशाख २०७७, २० : ००

समाजवादी पार्टीले आफ्ना नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको सरकारी पक्षले अपहरण गरेको आरोप लगाएको छ । 
 
समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले प्रहरी परिचालन गरेर जनकपुरबाट चौधरीको अपहरण भएको दावी गरे । 

पार्टी फुटाउने प्रयोजनका लागि यसरी अपहरण गरिएको उनको आरोप छ । 

‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाण्डौतिर लगेको ’  पाण्डेले फेसबुकमा लेखेका छन् ।

दुई दिनअघि मात्र सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो। संसदीय समिति वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था संशोधन गरिएको थियो। उक्त अध्यादेश जारी भएपछि मधेश केन्द्रितसहित नेकपाभित्रै नै पार्टी विभाजन हुने हल्ला चलेको थियो।

बुधबार, १० बैशाख २०७७, २० : ००

प्रतिक्रिया