नेपाल पत्रकार महासंघ सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोनाको भाइरस सम्बन्धी ¥यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
विहीबार बसेको महासंघको केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले आमसञ्चारकर्मीले कोरोनाको संक्रमणको उच्च जोखिमका बीच जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकालेको हो ।
महासंघको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा.लि., एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा अन्नपूर्ण मिडिया ग्रुपसहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघले दबाबपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ ।
बैठकले श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
प्रतिक्रिया