पाँच वर्षमा बने ४ लाख ९४ हजार घर, तर जसले घर पाए, सन्तुष्ट हुन सकेनन्

शुक्रबार, १२ बैशाख २०७७, १३ : २३

गोर्खा भूकम्पको ५ वर्ष पूरा भएको छ । पुनर्निर्माण प्राधिकरणको आंकडा अनुसार हालसम्म ४ लाख ९४ हजार ४४ भूकम्प प्रभावितले घर निर्माण गरेका छन् । प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । 

थप १ लाख ९० हजार १ सय ४५ अर्थात २५ प्रतिशत प्रभावितले घर बनाइरहेको प्राधिकरणको भनाइ छ ।  

तर जसले घर पाए उनीहरु सन्तुष्ट हुन नसकेको राष्टि देशविदेशका विपद्पछिको पुनर्निर्माण प्रक्रियालाई नजिकबाट नियालेका भूकम्प प्रविधि राष्ट्रिय समाजका भूतपूर्व प्रमुख कार्यकारी निर्देशक आमोदमणि दीक्षितले बताएका छन् ।  ‘जसले घर पाए उनीहरू पनि सन्तुष्ट हुन सकेका छैनन्। हामी वैज्ञानिक रूपमा अघि बढ्न सकेनौँ।’, उनले भने । 

यसकाे कारण हाे, अनुदान रकम पाउनकै लागि भनेर बनाइएका दुईकोठे घरले नेपाली मौलिकता मिचेको धेरैलाई लागेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका सिभिल इन्जिनियरिङ विभागका प्रमुख भरत मण्डल भूकम्पपछि सुरक्षित आवासबारे जनचेतना भने बढेकाे र यसलाई सकारात्मक ठान्छन्।

तर आवास निर्माणमा देखिएका समस्या औँल्याउँदै उनी भन्छन्, "नयाँ प्रविधि भनेर भुइँचालोपछि २०-२२ किसिमका डिजाइन आए। विदेशी प्रविधि हो भनेर त्यसलाई प्रयोग गरियो तर मेरो हिसाबमा केही प्रविधिहरू नेपालको लागि उपयुक्त थिएनन्।"

"अब त्यही प्रविधिको लागि अनुदान आयो अनि सरकारले पनि स्वीकृत गर्‍यो होला। हाम्रोमा मात्रै होइन विश्वमै होला सित्तैमा पाएपछि केही पनि नहेर्ने प्रवृत्ति छ।"

पुनर्निर्माण गरिएका संरचनाहरू कत्तिको सुरक्षित छन् भनेर निर्क्योल गर्न आवश्यक अध्ययन र अनुसन्धान पनि हुन नसकेको विज्ञहरूको मत छ।

‘न प्रविधिको रूपमा हामी अघि बढ्न सक्यौँ, न यससम्बन्धी अध्ययन अनुसन्धानलाई टेवा दिन सकियो’, दीक्षितलाई उध्रृत गर्दै बीबीसीले लेखेको छ, ‘उनले थपे, ूअहिले हात लाग्यो शून्यजस्तो अवस्था छ। नीतिगत रूपमा एकदम राम्रो भएपनि व्यवहारमा त्यसलाई संस्थागत गर्ने हिसाबमा खासै काम भएको छैन।’

विक्रम सम्वत् १९९० को महाभूकम्पयता गएको सबैभन्दा ठूलो उक्त विपद्ले नेपालका ३२ जिल्लालाई प्रत्यक्ष प्रभावित पारेको थियो।

त्यसयताको पाँच वर्षमा सन्तोषजनक रूपले काम अघि बढिरहेको र पुस मसान्तसम्म रहेको आफ्नो कार्यकालभित्र भूकम्पका कारण भत्किएका सबै घर बनाइसक्ने लक्ष्य राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

'हाम्रो सबैभन्दा मुख्य काम भनेको निजी आवासको निर्माण हो। सङ्ख्यालाई हेर्योए भने लगभग ९० प्रतिशतको हाराहारीमा या त सम्पन्न भइसकेको या पुनर्निर्माणको क्रममा गएको अवस्था छ। तेस्रो किस्ता लिनेकै सङ्ख्या ७२ प्रतिशत पुगिसकेका छन् ,' प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, 'आगामी पुस १० गतेसम्म, जुन प्राधिकरणको अवधि हो, त्यसबेलासम्म निजी आवासको निर्माणको कामलाई सम्पन्न गर्ने अवस्थामा पुग्ने देखिन्छ।'

उनले अझै निजी आवास निर्माण नगर्ने व्यक्तिहरूलाई अब लाभग्राहीको सूचीबाट हटाइने उल्लेख गरे।

पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति भएका झन्डै ७,५०० वटा विद्यालयमध्ये तीनचौथाइ बनेका र झन्डै १,००० सम्पदास्थलमध्ये आधाजतिको निर्माणकार्य सम्पन्न भएको उल्लेख गरेको छ।
क्षति भएका १,१०० भन्दा बढी स्वास्थ्यसंस्थामध्ये आधाको पुनर्निर्माण सम्पन्न भएको छ।

राजनीतिक खिचातानीका कारण पुनर्निर्माणका कतिपय काममा भएका विलम्ब भएको र खर्च तथा तालिम लिएका जनशक्तिको उचित प्रयोग हुन नसकेको भनेर प्रश्न पनि उठेको छ।

शुक्रबार, १२ बैशाख २०७७, १३ : २३

प्रतिक्रिया