संसदको दिगो विकास समितिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण को जोखिम रहेका बेला महामारी नियन्त्रणबाहेक अन्यन्त्र ध्यान नदिन सरकारलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस विश्व महामारीका रुपमा फैलिएको भन्दै समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको हो ।
शुक्रबार बसेको समिति बैठकमा समिति सभापति तारादेवी भट्टले अहिलेको समयमा सबै एकजुट भएर काम गर्नुबाहेक अन्य विकल्प नभएको भन्दै सरकारलाई कोरोना नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न निर्देशन दिइन् ।
यस्तो बेलामा गुट, टुटफुटको अवस्था हुन नहुने तर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले एकजुट भएर काम गर्ने बाहेक अरु विकल्प नभएको बताइन् । ‘संविधानको मर्म र जनताको इच्छाविपरित जाने अधिकार कसैलाई पनि छैन भन्ने कुरामा सरकारको ध्यानाकर्षण पनि गराउँछु’, उनले भनिन् ।
सांसद दीनानाथ शर्माले सीमानामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा देश भित्र्याउन माग गरे । जनताको भोट र नोट (रोमिट्यान्स) लिने सरकारले उनीहरुको जीवनमाथि खेलवाड गर्न नहुने शर्माको भनाई छ ।
सुदूरपश्चिमकाका स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक स्वास्थ्य सामग्री तथा किटको अभाव भएको भन्दै समितिले समस्या समाधान गर्न निर्देशन दिएको छ ।
सरकारले सुदूरपश्चिममा ३३ जना चिकित्सकहरु पठाएपनि बाजुरामा एक जना चिकित्सक पनि नपुगेको जनाउँदै समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया