लकडाउनका विषयमा निर्णय गर्न  उच्चस्तरीय समितिको बैठक शुरु

शनिबार, १३ बैशाख २०७७, १२ : ०७

नेपालमा लकडाउन कति समय बढाउने र स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा आज निर्णय हुने भएको छ । 

(कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनको स्वरुप र अवधिको विषयमा निर्णय गर्न लागेको हो । 

त्यसका लागि समितिको बैठक शुरु भएको छ । नेपालमा लकडाउनको स्वरुप परिवर्तन गरि अवधि थप्ने विषयमा चर्चा भैरहेकोले समितिले १५ दिन लकडाउन थप्ने निर्णय गर्ने बताइएको छ ।  

वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिने तयारी भएको छ । स्रोतका अनुसार कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाइने तयारी भएको छ ।

विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने तयारी भएको हो । ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ ।

सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ ।

शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ ।

शनिबार, १३ बैशाख २०७७, १२ : ०७

प्रतिक्रिया