कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले लकडाउन थप्न सिफारिस गरेको छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयन भएको कारण नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको भन्दै समितिले लकडाउन थप्न सकरारलाई सिफारिस गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
यो विषयमा मन्त्रीपरिषद बेठकले निर्णय लिने समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
‘छिमेकी मुलुकहरुमा भएको स्थीती तर अन्तराष्ट्रिय परिवेशलाई बिचार गर्दै जानुपर्छ भन्ने निर्णय भएको छ’, उनले भने, ‘कतिदिनसम्म लकडाउन गर्ने भन्ने विषयमा मन्त्रीपरिषदले छलफल गरेर निर्णय गर्ने छ ।’
लकडाउनकै कारण संक्रमण फैलनबाट धेरै रोकिएको र थोरै प्रवेश भएपनि नियन्त्रणमा राखिएको निश्कर्ष निकालेको उनले बताए ।
उनले लकडाउन थप गर्ने मितिको विषयमा खुलाउन नचाहेपनि १५ दिन थप गर्ने भनेर सिफारिस गरेको एक मन्त्रीले बताए ।
पछिल्लो पटक बढाइएको घरबन्दीका अबधि भोलि आइतबार सकिँदैछ, भोलि बस्ने मन्त्रिपरिषद बैठकले घरबन्दीबारे निर्णय लिनेछ ।
समितिले मुख्य सचिवको नेतृत्वमा रहेको टास्कफोर्सलाई घरबन्दीको मोडालिटी तयार गर्ने जिम्मा दिएको छ ।
टास्कफोर्सले कुन कुन क्षेत्रमा के कसरी घरबन्दी खुकुलो पार्ने भन्ने विषयमा निर्णय लिनेछ ।
स्रोतका अनुसार केही जिल्ला र क्षेत्रमा घरबन्दी खुकुलो पारिए पनि तत्कालका लागि सीमा क्षेत्र भने खुला नगर्ने निष्कर्ष समितिको छ ।
त्यसैले संक्रमण विस्तार भएका, जोखिम बढी भएका र न्युन जोखिमका जिल्लाहरू पहिचान गरि रातो, पहँलो र हरियोमा वर्गीकरण गरी केही सीमित क्षेत्रमा सर्तसहित लकडाउन खुकुलो बनाउने तयारी छ ।
घरबन्दीका कारण आर्थिक गतिविधिहरू प्रभावित भएको भन्दै संक्रमण विस्तार कम भएका र जोखिम कम भएका क्षेत्रहरूमा कृषिजन्य गतिविधि र सीमित बजारजन्य गतिविधि सर्तसहित सीमित रुपमा खुला गर्ने तयारीमा सरकार पुगेको छ ।
प्रतिक्रिया