रुकुममा युद्धस्तरमा बन्यो १४ बेडको सुविधासम्पन्न अस्पताल, १० दिनमै निर्माण सम्पन्न

आइतबार, १४ बैशाख २०७७, १६ : ४०

रुकुमको आठवीसकोटमा चिनियाँ शैली पछ्याउँदै १० दिनमै १४ शैय्याको सुविधासम्पन्न अस्पताल बनेको छ । 

संभावित कोरोना भाइरस संक्रमितको उपचारका लागि ६ वटा  एटेच बाथरुम भएका स्टान्डर्ड प्राइभेट बेड सहित १४ बेडको अस्पताल निर्माण गरिएको हो । 

पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को योजना र प्रत्यक्ष संरक्षणमा श्रम सहकारी द्वारा अस्पताल निर्माण भएको आठबिसकोट नगरपालिकाले जनाएको छ । 

रु ७५ लाख बजेट र १४ लाख बराबरको जनश्रमदान गरी कूल रु ८९ लाख लागतमा निर्माण सम्पन्न भएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिए । 

चैत २५ गते देखि शुरू भएकाे अस्पतालकाे निर्माण कार्य १० दिनमै सकिएपनि बेड र अन्य उपकरण राख्ने काम हालै सकिएकाे छ । 

सांसद शर्मा सहित नगरपालिकाभित्र सबै जनताले जनश्रमदान गरेको अस्पताल निर्माणका लागि नगरपालिकाले सहयोग पनि जुटाएको थियो । 

आफ्ना सांसदले नै अस्पताल बनाउन अगुवाइ गरेर श्रमदान शुरु गरेपछि स्थानीय जनता खुसीसाथ जनश्रमदानमा जुटेका थिए । 

श्रम सहकारीले श्रमदान जुटाएको भवन निर्माणका लागि श्रम र सहयोग अनिवार्य गरेका नगरेपछि काममा आउनेहरु आएका र आउन नपाउनेले स्वस्फूर्त १५ रुपैयाँ सहयोग गरेका थिए । जनताको श्रमदान बापतको र अन्य सहयोग गरी रु १५ लाख नगद समेत संकलन भएको थियो ।

शुरुमा १२ शैयाका लागि बनाइएको अस्पताल १४ शैयाको बनेको छ भने आवश्यक परे बीस शैयाको बनाउन सकिने आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिए । 

हाल कोरोना संक्रमणका विरामी भेटिए राख्नका लागि आइसोलेशन अस्पतालको रुपमा स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा यसलाई आठबीसकोट नगर अस्पतालको सरुवा रोग शाखा राखिने छ । 

स्थानीय श्रम र स्रोत साधनको परिचालन गर्दै चैत २५ गते निर्माण शुरु गरेको अस्पताल वैशाख ४ गते दश दिन अर्थात २४० घण्टामा न्यूनतम असी जनाले झण्डै ८ हजार घण्टा काम गरेका थिए । 

दिनरात काम गर्नुका साथै भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकैसाथ अघि बढाइएकाले पनि दश दिनमै निर्माण सम्पन्न संभव भएको नगरपालिकाले जनाएको छ । 

लकडाउनको समयमा निर्माण सामग्रीको सबै प्रवन्ध नेता शर्माले गरेको अस्पतालका लागि नगर प्रमुख आफैले रेखदेख सँगै काम पनि गरिरहेका छन् । 

दश दिनमै यति ठूलो पक्की भवन स्थानीय जनताकै सहभागितामा निर्माण गरिएको यो नेपालकै पहिलो घटना भएको नगरप्रमुख केसीले बताए । 

रुकुमकै चौरजहारीमा ५० शैया र मुसिकोट नगरपालिकामा पनि प्रीफ्याब आइसोलेसन भवन निर्माण भइरेको छ । 

भवन निर्माण सम्पन्न भएपछि पूवमन्त्री शर्माले पार्टी,जनता र नगरपालिका सबैलाई बधाइ दिँदै जनता नै शक्तिका श्रोत भएकोले सबै कुरा जनताबाट सिक्नुपर्ने बताएका छन् । 

आइतबार, १४ बैशाख २०७७, १६ : ४०

प्रतिक्रिया