पूर्वप्रधानमन्त्रीको अन्तरवार्ताले रेडियो नेपालमा हंगामा, कार्यकारीले क्षमा माग्दै हटाए डा. भट्टराइको रेकर्ड

सोमबार, १५ बैशाख २०७७, १८ : ३०

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तरवार्ताले सरकारी स्वामित्वको रेडियो नेपालमा आतंक मच्चाएको छ । सोमबार बिहान साढे ६ बजे प्रत्यक्ष प्रशारण भएको अन्तरसंवादमा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेपछि रेडियोमा हंगामा मच्चिएको हो । 

सरकारी स्वामित्वको सञ्चारमाध्यममा आएका अतिथीले प्रधानमन्त्रीको आलोचना गरेको भन्दै सरकारका विभिन्न निकाय तथा अन्य सरकारी सञ्चारमाध्यमका कर्मचारीले आलोचना गरेका थिए ।   

त्यसपछि रेडियो नेपालले सो अन्तरवार्ता नै वेवसाइटबाट हटाएको छ ।  उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचार महाशाखा प्रमुख डा। नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथीका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

पढ्नुहाेस् : चाेरीका गीत बिक्री प्रकरण : म सरकारी अधिकारी हुन्नथेँ भने म्युजिक नेपालमा आगो लगाउथेँ

कार्कीले सो कार्यक्रम लाइभ प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा मागेका छन् । 

‘सो कार्यक्रम प्रत्यक्ष (लाइभ) प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं। अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथी चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछौं।’

पूर्वप्रधानमन्त्रीको अन्तरवार्ता नै हटाएपछि रेडियो नेपाल र कार्यकारी निर्देशक कार्कीको समेत आलोचना शुरु भएको छ । 

मधेसी नेतालाई रिझाएर रेडियो नेपालमा जागिर खान पुगेका कार्यकारी निर्देशक कार्की जुन पार्टीको सरकार आयो उसैलाई रिझाउँदै पार्टी फेरेर म्याद थप्दै आएका छन् । 

रेडियो नेपालमा नयाँ परिवर्तन भन्दा पनि विभिन्न खरिद र जग्गा लिजमा दिने काण्डमा मुछिएर भ्रष्टाचार गर्दै आएका कार्कीको नेकपा निकटका पत्रकारले पनि चर्को आलोचना गर्ने गरेका छन् । 

पढ्नुहाेस् : सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल

 
सोमबार, १५ बैशाख २०७७, १८ : ३०

प्रतिक्रिया