पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।
अपहरणसम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी नलिइएको हो ।

बबरमहलस्थित सरकारी वकिल कार्यालय पुगेका जनता समाजवादी पार्टीका नेताहरूले यादवलाई अपहरण गर्नेविरूद्ध दिएको किटानी जाहेरी ले लिन नमानेको उक्त पार्टीका नेता केशव झाले बताए।
मंगलबार जनता समाजवादीका शीर्ष नेताहरू उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतोसहित जाहेरी दर्ता गर्न सरकारी वकिल कार्यालय पुगेका थिए ।

‘हामी सरकारी वकिल कार्यालयमा जाहेरी लिएर गएका थियौं। छलफलका लागि समय चाहिन्छ भन्दै उहाँहरूले आलटाल गर्नुभयो,’ उनले भने, ‘दर्ता गर्न नमानेपछि हामी यहाँबाट निस्कियौं।’
सांसद यादवलाई केही दिनअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए।

आफ्नो इच्छाविपरीत काठमाडौं ल्याएको भन्दै सांसद यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार जाहेरी निवेदन दिए पनि दर्ता भएको थिएन।
अब डिआइजी कार्यालय वा सर्वोच्च अदालतबाट सत्तारूढ नेकपाका सांसदद्वय र पूर्वप्रहरी महानिरीक्षकविरूद्ध जाहेरी दिने तयारी रहेकाे साे पार्टीले जनाएकाे छ ।








प्रतिक्रिया