लकडाउन असर बारीमा कुहियो तरकारी , बजारमा अभाव !

बुधबार, १७ बैशाख २०७७, ०९ : २६

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।
 
अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीय बासिन्दा अहिले चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसअघिसम्म प्रतिकेजी रु ५०÷६० मा पाइने गोलभेँडा लकडाउनका कारण बजारमा नआएपछि अहिले रु १२० मा खरिद गरेर उपभोग गरिरहेका छन् । 

किनमेल गर्ने सर्वसाधारणका कारण निकै व्यस्त रहने दिक्तेल बजारमा यसअघिसम्म दुई दर्जनभन्दा बढी तरकारी पसल सञ्चालनमा थिए । गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि अहिले अधिकांश तरकारी पसल बन्द नै भइसकेका छन् ।
 
छिटपुटरूपमा सञ्चालनमा रहेका तरकारी पसलमा पनि ग्राहकले खोजेको तरकारी पाउन मुस्किल छ । दिक्तेल बजारमा सञ्चालित तरकारी पसलमा अहिले लामो समयसम्म टिक्ने दाल, गुन्द्रुक, सिन्की, भटमासको मस्यौरालगायत मात्र पाइन्छ ।
  
सरकारले लागू गरेको लकडाउनपछि गाउँ तथा शहरबाट तरकारी नआएपछि पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको दिक्तेल बजारस्थित सङ्गमपार्कका तरकारी व्यापारी श्याम पौडेलले बताए ।

 “जिल्लाका तरकारी व्यापारीलाई प्रशासनले सवारी सञ्चालन अनुमति दिएको छैन”, उनले भने, “सवारी सञ्चालन अनुमति दिने हो भने, दिक्तेल बजारमा आवश्यक तरकारी गाउँबाट ढुवानी गरेर ल्याउन सकिन्छ । तर पटक–पटक अनुरोध गर्दा पनि प्रशासनले सवारी अनुमति दिन मानेन ।”

दिक्तेल बजारमा सञ्चालित तरकारी पसलबाट सर्वसाधारणसँगै निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खरिद गर्दै आएका थिए । ढुवानीका साधन हुने केही पसलबाहेक दिक्तेल बजारका अधिकांश तरकारी पसल स्थानीय कृषकको उत्पादनले सञ्चालन हुँदै आएको थियो ।
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रमा पर्ने दिक्तेल बजारमा हप्ताको दुई दिन बुधबार र शनिबार हटिया लाग्दै आएको थियो । विशेषगरी कृषि उपजहरु दाल, तरकारी, चामल, फलफूल, कुखुराको भाले, सुँगुरको पाठापाठी आदि खरिद तथा बिक्री हुने उक्त हटिया डेढ महिनादेखि अनिश्चितकालीन बन्द छ । 

अधिकांश व्यापारी तथा कर्मचारीको बसोबास रहेको दिक्तेल बजारमा अहिले आसपासका कृषकका बारीमै गएर खरिद गरेर ल्याएको तरकारी उपभोग हुने गरेको छ ।

 लकडाउनका कारण दिनभर बन्द हुने दिक्तेल बजारमा सञ्चालित तरकारी पसल भने बिहान ७ देखि १० बजेसम्म खुलाउन प्रशासनले अनुमति दिएको छ । 

लामो समयको लकडाउनका कारण आफूले उत्पादन गरेको काउली मात्रै २५० केजीभन्दा बढी कुहिएर खेर गएको सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए । 

“अहिले सबै कृषकको बारीमा काउली, बन्दा, गोलभेँडालगायतका सागसब्जी बिक्री गर्ने अवस्थामा छ”, उनले भने, “लकडाउनका कारण बजार लैजान नपाएपछि बारीमै कुहिएर गइरहेको छ ।”

अन्यबाली लगाउने जमिनसमेत मासेर तरकारी खेती शुरु गरेका कृषक आफूले उत्पादन गरेको तरकारी लकडाउनका कारण बिक्री गर्न नपाएपछि निरास बनेका छन् । 

जिल्लाका दिक्तेल, सोल्मा, खाल्ले, लफ्याङ, बाम्राङ, याम्खा, नेर्पालगायतका कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । 

जिल्लामा उत्पादित अग्र्यानिक तरकारी राजधानी काठमाडौँलगायत तराईका विभिन्न शहरमा निर्यात हुन थालेको थियो ।

आफूले उत्पादन गरेको तरकारी बाहिरी जिल्लामासमेत निर्यात हुन थालेपछि जिल्लाका कृषक आधुनिक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती गर्न लागिपरेका थिए । 
 

बुधबार, १७ बैशाख २०७७, ०९ : २६

प्रतिक्रिया