कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा निर्माण गरिएको बुथ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले निर्माण गर्नुभएको बुथ शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । ढुङ्गानाले एक हप्ताको अवधिमा उक्त बुथ निर्माण सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । “बुथको सम्पूर्ण काम सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिएको छ,” ढुङ्गानाले भने, “बुथ सञ्चालनका लागि तयारी अवस्थामा छ ।”
बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज (पिपिई) नलगाइकन पनि कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाव सङ्कलन गर्न सक्छन् । स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको भन्दै ढुङ्गानाले भने, “व्यक्तिगत सुरक्षा कवज (पिपिई) को अभाव हुँदा पनि बुथभित्र बसेर स्वास्थ्यकर्मीले ढुक्कसँग स्वाव सङ्कलन गर्न सक्छन् ।”
बुथ निर्माणको सम्पूर्ण खर्च अस्पताल विकास समितिले बेहोरेको छ । बुथ निर्माणका लागि करीब रु ५० हजार खर्च भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । बुथ निर्माण सम्पन्न भएकाले चिकित्सकले कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब सङ्कलन अब बुथभित्रै बसेर गर्नेछन् । “बाहिरको जीवाणु भित्र नजाने गरी बुथ निर्माण गरिएको छ । यो सुरक्षित भएकाले स्वास्थ्यकर्मी पनि ढुक्क भएर सेवा प्रवाहमा लाग्न सक्नेछन्”, अधिकारीले भने ।
दमौली अस्पतालले शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ । तनहुँमा हालसम्म २० जनाको स्वाब परीक्षण भइसकेको छ । तीमध्ये १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी चार जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ढुङ्गानाले नै निर्माण गरेको स्यानिटाइजर टनेलसमेत दमौली अस्पतालमा सञ्चालनमा आइसकेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिसकिएको छ ।
मध्यमस्र्याङ्दी केन्द्रमा विद्युत् उत्पादन बढ्न थाल्यो
लमजुङ – गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित बेँसीशहर नगरपालिकाका–१ दलालमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन बढ्न थालेकोे छ । नदीमा पानीको बहाव कमी हुँदा यस केन्द्रमा अघि समयअघिसम्म मुस्किलले २५÷३० मेगावाट विद्युत् उत्पादन भइरहे पनि पानी पर्याप्त हुन थालेपछि केहीदिनबाट ४५ देखि ५० मेगावाटसम्म विद्युत् उत्पादन हुन थालेको केन्द्र प्रमुख शिवकुमार शाहले बताए ।
उनले भने, “बेलाबेला वर्षा हुनाका साथैै हिउँ पग्लिएसँगै मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेपछि उत्पादन पनि बढ्न थालेको र केही हप्तापछि यसरी पानी नदीमा बढ्न थालेमा पूरै क्षमतामा बिजुली उत्पादन हुनेछ ।” यस कन्द्रमा ३५÷३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । हिउँदको समयमा कुनैबेला २५ मेगावाट मात्रै पनि बिजुली उत्पादन हुने गरेको थियो । केन्द्र प्रमुख शाहले भने, “उत्पादन बढ्न थाले पनि लकडाउनका कारण बिजुलीको माग कम भएको छ ।” सन् २००० देखि निर्माण कार्य शुरु गरी सन् २००८ मा निर्माण कार्य सम्पन्न गरेसँगै आयोजनाले विद्युत् उत्पादन थालेको थियो ।
यस आयोजना कुल रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो । यस आयोजना जिल्लाकै ठूलो र पहिलो आयोजनासमेत हो । यस आयोजना निर्माण शुरु भएपछि जिल्लामा दर्जनाँै आयोजनाले निर्माण थालनी शुरु गर्दै आएको छ । त्यस्तै केही आयोजनाले निर्माण कार्य सम्पन्न गरी बिजुली उत्पादनसमेत गर्दै आएको छ ।
त्यस्तै अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका रहेको ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् उत्पादन बढ्न थालेको आयोजनाले जनाएको छ । केही समय अघिसम्म क्षमताभन्दा करिब आधामात्रै उत्पादन हुँदै आए पनि यतिबेला ५० मेगावाट बिजुली उत्पादन गर्न सकिने आयोजनाका कर्ण अधिकारीले बताए । उनले भने, “नदीमा पानीको सहत बढ्न थालेपछि उत्पादन पनि बढ्न थालेको छ तर बिजुलीको माग कम भएकाले २५ मेगावाट मात्र बिजुली उत्पादन गरेका छौंँ ।”
सन् २०१३ जनवरीदेखि आयोजनाको निर्माण कार्य थालनी गरी सन् २०१७ जनवारीदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गरेको थियो । यस आयोजना करिब रु १६ अर्बमा निर्माण सम्पन्न गरेको थियो । चिनियाँ बहुर्राष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपाल चितवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी को १) प्रतिशत लगानी रहेको छ ।
निसीखोलाका एघार सय घरधुरी अन्धकारमा
गलकोट बागलुङको निसीखोला गाउँपालिकामा लघु जलविद्युत्को नहर भत्किँदा एक हजार १०० भन्दा बढी घरधुरी अन्धाकारमा बस्न बाध्य भएका छन् । गाउँपालिकाको वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको वर्षत्का कारण नहर भत्किँदा १४ दिनदेखि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । गत वैशाख ७ गते नहर भत्किँदा यहाँका एक हजार १५० घरधुरीका जनता अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर उद्योग, कुखुरापालक कृषकसमेत मर्कामा परेका छन् । स्थानीयवासीले मोबाइल, रेडियोसमेत चलाउन नसक्दा सञ्चारको पहुँचबाट पनि वञ्चित हुनुपरेको छ । आयोजनाको नहर अत्यधिक वर्षाका कारण करिब २५ मिटर भत्किएपछि विद्युत् उत्पादन गर्न नसकेको आयोजना प्रमुख रामप्रसाद चालिसेले जानकारी दिए । उनले नहर भत्किएलगत्तै निर्माणलाई तीव्रता दिएको बताउँदै जतिसक्दो चाँडो विद्युत् सेवा सञ्चालन गर्ने बताए ।
“कुलो भत्किएपछि यहाँका जनता अन्धकारमा बस्न बाध्य भएका छन् । हामीले यसको निर्माणलाई तीव्रता दिएका छौँ”, चालिसेले भने, “अप्ठ्यारो ठाउँमा कुलो भत्किँदा निर्माणमा समय लागेको हो ।” उनका अनुसार विद्युत् सञ्चालनमा अझै केही हप्ता लाग्नेछ । बागलुङको पश्चिम क्षेत्र निसीखोला र तमानखोला गाउँपालिकालाई विद्युत्को केन्द्रीय प्रसारणलाइनले छुन सकेको छैन । स्थानीयवासीलाई लामो समयदेखि लघु जलविद्युत् आयोजना ठप्प हुँदा अँध्यारोमा रात कटाउनुपर्ने बाध्यता रहँदै आएको छ ।
प्रतिक्रिया