लकडाउनमा पनि कृषकलाई चटारो

आइतबार, २१ बैशाख २०७७, १५ : ४९

लकडाउनमा पनि भोजपुरका ग्रामीण भेगका किसानलाई खेतीपाती गर्न भ्याइनभ्याइ छ । खेतीपातीको सिजन भएकाले उनीहरु कोरोना सङ्क्रमणबाट जोगिन सावधानी अपनाउँदै अन्नबाली लगाउनमा व्यस्त भएका हुन् । किसान असारको वर्षे धान लगाउने, मकै गोड्ने खेतबारीमा तरकारी लगाउनेलगायत काममा  व्यस्त रहेका छन् । कृषिबाट जीविका चलाउने किसान लकडाउनको प्रवाह नगरी खेतबारीमा व्यस्त भएका हुन् । मानो खाएर मुरी फलाउने समय भएकाले लकडाउनको प्रवाह नै नगरी खेतबारीको काममा व्यस्त हुने गरेको किसानको भनाइ छ ।
 
स्थानीय किसान निर्मला खड्काले भने, “लकडाउनमा भए पनि हामीजस्ता खेती गरेर खाने किसानलाई कामको चटारो छ । शहरतिर जान पनि पाइँदैन । विगतको समयजस्तै काम गरिरहेका छौँ । हामीलाई खेतीपाती गर्न लकडाउनले कुनै पनि असर गरेको छैन ।” खेतीपाती गरिरहेको भए पनि उन्नत जातको बीउबिजन तथा रासायनिक मल ल्याउन भने केही समस्या भएको किसानको भनाइ छ । मल तथा बिउबिजनका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्ने उनीहरुको माग छ । अर्का किसान खगेश्वर विष्टले भने, “हामीलाई खेती गर्न लकडाउनले कुनै समस्या छैन । लकडाउनले मल तथा बीउबिजन ल्याउन भने समस्या छ । त्यसमा सरकारले पहल गर्नुपर्ने आवश्यक छ ।”

शहरी क्षेत्रका मानिस घरमै बसेर लकडाउनको पालना गरिरहेको भए पनि ग्रामीण भेगमा किसान भने वर्षभरि परिवारलाई खान पुग्ने अन्नबालीको जोहो गर्नका लकडाउनको कुनै असर नपरेको किसानले बताउने गरेका छन् । कृषि ज्ञान केन्द्र भोजपुरले भने लकडाउनको बेला किसानलाई रासायनिक मल उपलब्ध गराउनका लागि सम्बन्धित वितरकसँग इमेलमार्फत सिफारिस दिने व्यवस्था मिलाएको जनाएको छ । कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले भने, “भोजपुरका कृषकहरु कृषिमा व्यस्त छन्, उनीहरुलाई आवश्यक पर्ने मल तथा बिउबिजन ल्याउनका लागि काम गरिरहेका छौँ । उनीहरुलाई समयमा मल तथा बिउबिजन दिनमा प्रतिबद्ध भएर लागिपरेका छौँ, लकडाउनका कारण मल ल्याउनमा केही समस्या छ ।” गत आर्थिक वर्षमा भोजपुुरमा ३२ हजार ४५७ मेट्रिक टन धान र दुई दशमलव १८ मेट्रिक टन मकै उत्पादन भएको थियो । 
 

आइतबार, २१ बैशाख २०७७, १५ : ४९

प्रतिक्रिया