नेपाल पत्रकार महासङ्घले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्तिमार्फत दुई देशबीच सहमति र सन्धि भई सीमाको सीमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एक पक्षीय ढङ्गबाट सडक निर्माण गरिनु आफैँमा दुःखद र खेदजनक कार्य भएको उल्लेख गरेका छन् ।
भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नाका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल पुग्ने खतरा बढेको महासङ्घको ठहर छ । महासङ्घले भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया