उद्धार गर्न माग

विहीबार, ०१ जेठ २०७७, १४ : ११

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना भाइरसका कारणले बन्दाबन्दीको अवस्थामा भारतमा अलपत्र परेका नेपाली मजदुरलाई उद्धार गर्न सरकारसँग माग गरेको छ ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीले आज यहाँ विज्ञप्ति जारी गर्दै  ती मजदुरलाई स्वास्थ्य परीक्षण गरी नेपाल भित्र्याइ आवश्यकतानुसार आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाउन आग्रह गरे । उनले काम गर्ने कारखाना बन्द भएकाले भारतमा रहेका नेपाली मजदुरको अवस्था पनि दयनीय बनेको उल्लेख गरेका छन् ।
 
“अनेकन शहरमा स–साना कोठामा झुण्डकाझुण्ड नेपाली श्रमिक बसेका छन् । उनीहरुसँग रोजगार छैन, खाना छैन, कोठाभाडाका लागि ताकेता भइरहेको छ, भोक र चिन्ताले बिरामी भएका छन्”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा ब्रिटिशबाट भारत स्वतन्त्र भए पनि भारतले नेपालप्रति अपनाउँदै आएको नीतिमा कुनै परिवर्तन नभएको जनाउँदै कोभिड–१९को कहरका बेलामा भारतले नेपालको भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो उद्घाटन गरेकोप्रति भत्र्सना गरेको छ ।

“भारत सरकारले लगातार नेपाललाई आफ्नो अधिनमा राख्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा हस्तक्षेप गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “भारतले नेपालको सीमा पटक–पटक अतिक्रमण गरेको छ । यस विषयलाई अन्तर्राष्ट्रियकरण गरी नेपाली भूमि फिर्ता गराउनुपर्दछ ।”
 

विहीबार, ०१ जेठ २०७७, १४ : ११

प्रतिक्रिया