बुटवलमा टेलिभिजनमार्फत शिक्षण सिकाइ शुरु

विहीबार, ०१ जेठ २०७७, १५ : २५

कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा आजदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको हो । बुटवल उपमहानगरपालिकाले यहाँका लुम्बिनी सामुदायिक टेलिभिजन र बुद्ध टेलिभिजनमार्फत बिहान र दिउँसो दुई चरणमा कक्षा सञ्चालन गरेको हो ।   
  
परीक्षा दिने मितिसमेत तोकिएर स्थगन भएपछि विद्यार्थीमा तनाव हुन नदिन र पढाइमै केन्द्रित गराउन श्रव्यदृष्यका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । यहाँका विद्यालयमा पढाइ हुने हरेक विषयका शिक्षकलाई समय तालिका निर्धारण गरेर विद्यार्थी लक्षित टेलिभिजन कार्यक्रम गरिने उनको भनाइ छ । 

परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन बेलुकादेखि लकडाउन शुरु भएपछि रोकिएको थियो । परीक्षा रोकिएसँगै देशभरका सबै विद्यालय बन्द छन् । विद्यार्थी घरमै रहेकाले अभिभावकसमेत चिन्तित छन् । 

यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरेर बुटवलका टेलिभिजनबाट पठनपाठन शुरु गरिएको उपमहानगर, शिक्षा तथा जनसंंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। उनले शिक्षकलाई विषयगत रुपमा समय तालिका निर्धारण गरेर खटाइएको बताए । आजदेखि शुरु भएको शिक्षण सिकाइ क्रियाकलाप एक महिनासम्म चल्ने छ । अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, सामाजिक अध्ययन र ऐच्छिक गणितलगायत विषयको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिने छ ।  बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसइई परीक्षाको तयारीमा रहेका करीब चार हजार विद्यार्थीलाई लक्ष्य गरेर यस्तो कक्षा सञ्चालन गरिएको हो । 
 

विहीबार, ०१ जेठ २०७७, १५ : २५

प्रतिक्रिया