–प्रेम रौले
यहाँस्थित बूढीगङ्गा नगरपालिकाले नगरपालिकाको बाँडफाँड गर्न बाँकी रहेको रकम कोरोना भाइरस रोकथाम राहत कोष राख्ने भएको छ ।
नगरपालिकाको रु दुई करोड बाँडफाँड नगरिएकाले सोही रकमलाई राहत कोष बनाएकोे नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए । नगर कार्यपालिकाको बैठकले उक्त रकम राहत कोषमा राख्ने निर्णय गरेको जनाइएको छ ।
दैनिक ज्याला मजदुरी गर्ने, अति गरिब, विपन्न न्यून आयस्रोत भएका र समस्यामा परेका परिवारलाई सो रकम खर्च गरिने नगर उपप्रमुख तारा खातीले जानकारी दिए ।
कोषको रकमबाट जिल्ला बाहिर विभिन्न शहर तथा भारत र तेस्रो मुलुकबाट आएर नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनका लागि खर्च गरिने निर्णय भएको उनले बताए ।
नगरपालिकाको निर्देशनअनुसार सबै वडाका वडाध्यक्षले सङ्कलन गरेको तथ्याङ्कका आधारमा १० वटैै वडामा ३० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई पोका तेल, दुई पोका नुन, चारवटा हातधुने साबुन, हरियो तरकारी बन्दा काउली वितरण कार्य भइरहेको नगर प्रमुख शाहले बताए ।
नगरपालिकाभित्रकै किसानले फलाएको तरकारीलाई नगरपालिकाले खरिद गरेर राहतसँगै तरकारी पनि वितरण गरिएको छ । राहतमा दाल चामलसँगै तरकारी दिँदा पोषिलो खाने कुरामा समेत राहत हुने भएको छ ।
राहत दिने कुरा दैनिक ज्यालादारी अतिविपन्न परिवारलाई हो, त्यसमा धेरै सुनौला हजार दिनका आमा र बालबालिका पनि परेका छन् । खाद्यान्नसँगै हरियो तरकारी वितरण गर्ने निर्णय उपयुक्त भएको बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए ।
नगरपालिकाका सबै वडामा राहत वितरण शुरु भएसँगै जिल्ला बाहिरा काठमाडौँमा अलपत्र परेका विद्यार्थीको तथ्याङ्क सङ्कलन कार्र्य भइरहेको छ । सङ्कटको बेलामा राजनीतिक दाउभन्दा सामाजिक कार्यमा लाग्न नगर प्रमुख शाहले आग्रह गरेका छन् ।
रोगले बसैलाई नचिन्ने भएकाले रोकथाम र सचेतका लागि नगरका सबै राजनीतिक दल, समाजसेवी, शिक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा शाहले जोड दिएका छन् ।
कोरोना भाइरस रोक्न एक ठाउँबाट अर्को ठाउँ जानेलाई प्रत्येक वडाको सिमानामा स्वयंसेवकसमेत परिचालन गरी नगरपालिका आउने जानेको तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनले जानकारी दिए ।
उनले नगरपालिकाले जिल्ला अस्पतालमा आइसोलेशन कक्ष निर्माणका लागि रु एक लाखसमेत सहयोग गरेको बताए ।
राहत मापदण्ड कार्यविधि, २०७६ पारित
बूढीगङ्गा नगरपालिकाको कार्यपालिका बैठकले नोबेल कोरोना भाइरस महामारी रोकथाम राहत मापदण्ड कार्यविधि, २०७६ पारित गरेको छ ।
नगरपालिकामा कार्यपालिकाको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले उक्त सङ्क्रमणमा नगरका नागरिकले भोकभोकै बस्नुपर्ने बाध्यता सिर्जना हुन नदिनका लागि कार्यविधि ल्याएको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।
नगर कार्यपालिकाले पारित गरेको राहत कार्यविधि मापदण्ड, २०७६ अनुसार नगरपालिकाका १० वटै वडामा राहत वितरण गरिने नगर प्रमुख शाहले राससलाई बताए ।
कार्यविधिअनुसार १० वटै वडाका अध्यक्ष संयोजक रहने गरी वडापालिका राहत वितरण समिति गठन गरिएको नगर उपप्रमुख तारा खातीले बताए । उनले नगरभित्रका विपन्न, अति गरिब र न्यून आय स्रोत भएका र ज्याला मजदुरी गर्नेको तथ्याङ्क सङ्कलन गरी उक्त तथ्याङ्कका आधारमा राहत वितरण गरिने उपप्रमुख खातीले बताएका छन् ।
नगरपालिकाले बनाएको राहत मापदण्डका आधारमा १५ हजारभन्दा माथि तलब खाने परिवारलाई राहत नदिने र सोभन्दा कम तलब हुने परिवारले अन्य परिवारको भन्दा आधा राहत पाउने गरी कार्यविधि बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनले जानकारी दिएका छन् ।
उनले दिएको जानकारीअनुसार जिल्ला बाहिर उच्च शिक्षाका लागि तथा ज्याला मजदुरी गर्न गएर समस्यामा परेका विद्यार्थी र मजदुरलाई रु दुई हजार ५०० का दरले राहत वितरण गरिने प्रशासकीय अधिकृत महर्जनले बताए ।
नगरपालिकाबाट उपचारको सिलसिलामा जिल्ला बाहिर अलपत्र परेकालाई समेत राहतको व्यवस्था नगरपालिकाले गर्ने कार्यपालिका सदस्य तथा वडा नं ८ का वडाअध्यक्ष टेक रावलले बताएका छन् ।जिल्ला बाहिर अलपत्र परेकालाई समेत राहतको व्यवस्था नगरपालिकाले गर्ने कार्यपालिका सदस्य तथा वडा नं ८ का वडाअध्यक्ष टेक रावलले बताएका छन् ।
प्रतिक्रिया