कोरोना कोषमा नौ लाख सहयोग

आइतबार, ०४ जेठ २०७७, १५ : ३०

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा गाउँपालिकाका कर्मचारी र शिक्षकहरुले रु नौ लाख सहयोग गरेका छन् ।

गाउँपालिकाभित्रका शिक्षक र कर्मचारीको बैठकले अधिकृत तहको पाँच दिन बराबरको, अन्य कर्मचारीहरुको तीन दिन, गाउँपालिकाभित्रका शिक्षकको तीन दिनको र सहयोगी तहका कर्मचारीले एक दिनको तलब गरी रु नौ लाख जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

कोषमा गाउँपालिकाको वडा नं १ मा स्थायी घर भइ हाल हङकङमा बसोबास गर्ने गोविन्द पुनले १५५ बोरा चामल, ३१० केजी नुन, १५५ लिटर तेल सहयोग गरेका थिए । उक्त खाद्यान्न १, २, ३ ४ नं का असिनापीडित किसानलाई वितरण गरिएको उनकोे भनाइ छ । सो कोषमा गाउँपालिकाले रु ७१ लाखको कोष स्थापना गरेको छ । उक्त कोषबाट जिल्ला अस्पताललाई आइसोलेसन वार्ड स्थापनाका लागि रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

आइतबार, ०४ जेठ २०७७, १५ : ३०

प्रतिक्रिया