कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।
विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।
समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरु लगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको बताए ।
उनले विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फैलिन नदिने गरी क्रमश ल्याउने ढंगको योजना ल्याउने तयारीको चरणमा रहेको समेत बताए ।
समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए ।
प्रतिक्रिया