सदविचार र सत्कर्ममा रहन प्रेरित गर्दै आज ईद मनाईँदै, सरकारले दियो सार्वजनिक विदा

सोमबार, १२ जेठ २०७७, ०८ : १४

आज  मुस्लिम समुदायको ठूलो चाड इदुलफित्र (ईद) एकअर्कामा शुभकामना साटासाट गरी मनाइँदै छ । 

हिजरी संवतको रमजान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी  रमजान सकिएको शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईद मनाउने प्रचलन छ । 

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व आईतबार पर्ने भनिएको भएपनि एसीयाका सबै देशहरुबाट चन्द्रमा नदेखिएपछि सोमबार (आज) तय गरिएको थियो ।  तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि मात्र ईद मनाईन्छ । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

आज मुस्लिम धर्मावलम्वीले अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) र मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्ने प्रचलन छ । 

आज नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन पनि छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २।५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

ईदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतले शुभकामना दिँदै  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका छन् । 

राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउन आह्वान गरेकी छन् । 

उपराष्ट्रपति पुनले शुभकामना दिँदै देशमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र भएकाले एक जुट भएर यसविरुद्ध लड्न र विजय प्राप्त गर्नाको विकल्प नभएको र कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जान विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्वले नेपालीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गरेका छन् । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार, १२ जेठ २०७७, ०८ : १४

प्रतिक्रिया