चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

सोमबार, २६ जेठ २०७७, ११ : ५१

व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ ।  ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य  ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै  तीनै  तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरे ।  गण्डकी प्रदेश सरकारद्वारा रु १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजीक रहेको करीब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो । 

वडाभित्र  बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करीब दुई किलोमिटर हिँडेर दमौली बजार नजीक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए । 

यसैबीच सोही वडास्थित धुपखोला नजीक करीब रु दुई लाखको लागतमा किरियापुत्री भवन निर्माण थालिएको छ । वडाले विनियोजन गरेको बजेट तथा स्थानीवासीको जनश्रमदान गरी  भवन बनाउन लागिएको हो ।  समयावधिभित्रै  भवन सम्पन्न गर्ने गरी काम भइरहेको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए । 
 

सोमबार, २६ जेठ २०७७, ११ : ५१

प्रतिक्रिया